
नेपाल कम्युनिस्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले बालकृष्ण ढुंगेलको रिहाइका विषयमा नेपाली कांग्रेसले गरेको आपत्तिको कुनै अर्थ नरहेको जिकिर गरे ।
‘निश्चित समयको कैद भुक्तानी गरेपछि संविधान, नियम, कानुनअनुसार अरु कैदीहरु जसरी छुट्छन्, बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नु भएको हो’–प्रधानमन्त्री ओलीले भने–‘यस विषयमा कांग्रेसको आलोचना कानुनसम्मत छैन ।’
उनले कांग्रेसलाई ‘खुद्रा, त्यान्द्रा समाएर राजनीति नगर्न’ पनि आग्रह गरे ।
नेपालको शान्ति–प्रक्रिया विश्वका लागि दृष्टान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो कतैबाट आयातित ‘मोडल’ नभइ आफैंले सिर्जना गरेको मोडल भएको बताए ।
सरकारले ल्याएको बजेट उत्कृष्ट रहेको प्रधानमन्त्री ओलीको दावी छ ।
बजेटमा कृषि, उद्योग, व्यापारलगायतका क्षेत्रमा ‘युगान्तकारी परिवर्तन आउने’ कार्यक्रम समेटिएको उनले सुनाए ।
कतिपय सडकलगायत विकासका कामहरु प्रदेश र स्थानीय तहबाट सन्चालन हुने भएकाले केन्द्रीय बजेटमा उल्लेख नभएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले सबै सांसदहरुलाई बजेट पुनः अध्ययन गर्न, नुबझेका कुरा अनुभवी र विज्ञ सांसदहरुसँग सोध्न पनि आग्रह गरे ।
‘नेकपाका सांसदहरु जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । उनीहरुले जनताप्रति उतरदायी हुनैपर्छ’–उनले भने–‘हाम्रो संसदीय दल समय गुजारेर, अलमलिएर बस्ने पल्टन होइन । सधैं क्रियाशील भइरहनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम नेपाल केही दिनमै सरकारमा सहभागी हुने पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्