
कांग्रेसले वाम गठबन्धनले निर्वाचनकाक्रममा जनतामाझ गरेका प्रतिबद्धतालाई बजेटमा नसमेटिएको र अघिल्लो सरकारले ल्याएको ६५ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिने कार्यक्रम समावेश नगरिएको भन्दै बजेटको चर्को आलोचना गरेको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलकाक्रममा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले मुलुकलाई समृद्ध बनाउने अवसरबाट वाम गठबन्धन चुकेको भन्दै बजेटबाट सबै पक्ष असन्तुष्ट बनेको बताए ।
उनले अर्थविद् अर्थमन्त्रीलाई अर्थ व्यवस्थाका अप्ठ्यारा र पार्टी घोषणा दुवैलाई मिलाएर बजेट बनाउन कठिन देखिएको महसुस आफूहरुले गरेको बताए ।
बजेटले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई केही राहत दिएपनि जनतालाई आहत बनाउने उनको टिप्पणी थियो ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद शरत्सिंह भण्डारीले बजेट विभेदकारी र संघीयता कार्यन्वयनविरुद्ध रहेको भन्दै आलोचना गरे ।
सत्तारुढ दलका सांसद हृदयेश त्रिपाठीले बजेटले राम्रो संकेत दिएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।
उनले नेपाली सेनासँग ‘फास्टट्रयाक’ बनाउने औजार नभएको भन्दै सेनालाई फास्टट्रयाक बनाउन दिने निर्णयमा पुनःविचार गर्न माग गरे ।
यसअघि, आर्थिक वर्ष २०७५/०७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सबै समुदायलाई न्याय गर्ने गरी लोककल्याणकारी माध्यमबाट समाजवादतर्फ उन्मुख भएर आएको जिकिर गरे ।
यस्तै, राष्ट्रियसभा बैठकमा पनि बजेटमाथिको छलफल जारी छ । विपक्षी दलले बजेटको आलोचना गरेका छन् भने सत्तारुढ दलले बजेट सकारात्मक भएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्