२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘कुले कुखुरो’ अभियान प्रभावकारी बन्दै, के हो यो अभियान ! (भिडियो)


0
Shares

धनकुटा, जेठ १८ । धनकुटामा कुलो मर्मत गर्न शुरु गरिएको ‘कुले कुखुरो’ अभियान प्रभावकारी बन्दै गएको छ ।

एक पटक निर्माण भएको कुलो बारम्बार मर्मत सम्भार गर्नुपर्ने भएकाले ‘कुले कुखुरो’ अभियानमार्फत् कुलो मर्मत थालिएको हो ।

सरकारले निर्माण गरेको कुलो पटकपटक भत्किने र मर्मतका लागि सरकारकै भर पर्नुपर्ने बाध्यता भएपछि धनकुटामा ४ वर्षअघि ‘कुले कुखुरो’ अभियान सुरु गरियो । जिल्ला सिंचाइ कार्यालय धनकुटाले सुरु गरेको अभियानले उपभोक्तामा पर्ने सास्ती केही भए पनि सल्टिएको छ ।

आर्थिक अभावका कारण कुलो पुनर्निर्माण हुन समस्या भएपछि यो समस्या चिर्न सिँचाई विकास डिभिजन कार्यलय धनकुटाले एउटा रचनात्मक योजना ल्याएको हो ‘कुले कुखुरो’ ।

यो अभियान अन्तर्गत सिँचाई सुविधा लिने उपभोक्ताहरुले कुलोको मर्मत संभारको खर्च जोहो गर्न प्रतिपरिवार एउटा कुखुरा पाल्नुपर्ने हुन्छ । कुखुराको चल्ला सिँचाइ उपभोक्ता समितिबाट उपलब्ध गरिदिने व्यवस्था छ । चल्ला एक वर्षसम्म पालेर समितिलाई फिर्ता गर्नुपर्ने नियम छ ।

कुखुरा पहिचान गर्न खुट्टामा रातो फिता बाँधेर राखिन्छ । कुखुरा कारणवश हराएमा वा मरेमा ठूलो कुखुराको मूल्य बराबरको रकम समितिलाई तिर्नुपर्ने हुन्छ ।

यो अभियान सुरु भएपछि कुलो मर्मतका लागि सरकारी कार्यालय धाउने क्रम घटेको सिंचाइ डिभिजन कार्यलय धनकुटाका सिनियर एसोसिएट अर्गनाइजर बुद्धि लिम्बुको भनाइ छ ।

कुले कुखुरो अभियानका कारण सानो सानो मर्मतसंभार गर्न पनि सरकारी कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको यो अभियानका परिकल्पनाकार तथा नयाँ प्रविधिमा आधारित सिंचाइ आयोजनाका प्रमुख देवराज निरौला बताउँछन् ।

यो अभियान धनकुटा जिल्लामा करिब १५ वटा जल उपभोक्ता समूहमा सञ्चालित छ । कुले कुखुरो योजनाबाट कुलोको सामान्य मर्मत संभार गर्न कसैको भर पर्नु नपरेको जनता महालक्ष्मी जल उपभोक्ता समिति अध्यक्ष नेत्रबहादुर अधिकारी बताउँछन् ।

तेह्रथुमबाट सञ्चालन गरिएको कुले कुखुरो अभियानले सिंचाइ समस्या भइरहेका जोकोहीलाई पनि सम्बोधन गरेको छ । धनकुटामा सफल भएसँगै यो अभियान तेह्रथुम र दोलखामा पनि सुरु गरिएको छ ।

यस्ता रचनात्मक योजना अन्य जिल्लामा पनि संचालन गर्न सकेमा सबै काममा सरकारकै मुख ताक्नुपर्ने बाध्यता अन्त्य हुने थियो ।

भिडियो हेर्नुहोस्