बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ • Image Khabar Image Khabar


बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ


Imagekhabar
१८ जेष्ठ २०७५, शुक्रबार १३:५४

बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ

कपिलवस्तु, जेठ १८ । छिमेकी जिल्लामा बर्ड फ्लु देखिपछि कपिलवस्तुमा सतर्कता अपाउन थालिएको छ । रोग नियन्त्रणका लागि कपिलबस्तुका सीमा नाकाहरुमा कडाइ गरिएको हो ।

भारतबाट अवैध तरिकाले भित्र्याइने पंक्षीजन्य बस्तुहरुबाट बर्ड फ्लु रोग आउने जोखिम रहेको भन्दै जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायत एक दर्जन सीमानाकामा विशेष कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ ।

सीमानाकामा निगरानी बढाइपछि शुक्रबार बिहान जिल्लाको शुद्धोधन गाउँपालिका–५ तारानगरबाट अवैध तरिकाले भित्र्याइएका २ हजार बढि कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ ।

बेवारिशे अवस्थामा रहेका चल्लालाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा दिउँसो नष्ट गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

यस्तै प्रहरीले जिल्लाको महाराजगंज नगरपालिका, हरदौना नाकाबाट २५ क्यारेट प्रतिबन्धित सेतो अण्डासमेत बरामद गरेको छ । उक्त अण्डासमेत प्रहरीले शुक्रबार नै पशु सेवा कार्यालयका कर्मचारी, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको जनाएको छ ।

कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेतो अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अवैध तरिकाले लुकीछिपी नाकाहरुबाट भित्र्याउने गरेका छन् । नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले बढी मुनाफा पाउन सेतो अन्डा र चल्ला भित्र्याउने गरेका हुन् ।

पशु सेवा कार्यालयले समेत जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी गराइएको जनाएको छ । बर्ड फ्लुकै कारण सरकारले २०६२ सालदेखि भारतबाट पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्