सांसदले सोधे–‘ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?’ • Image Khabar Image Khabar


सांसदले सोधे–‘ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?’


Imagekhabar
१८ जेष्ठ २०७५, शुक्रबार १५:०९

सांसदले सोधे–‘ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?’

निर्धारित् समयभन्दा २२ मिनेट ढिलो अर्थात् ११ बजेर २२ मिनेटमा सुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेकोजस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास र समृद्धिको पक्षमा रहेको आफूले पाएको बताए ।

उनले भने–‘जनआकांक्षा र मुलुकको आर्थिक अवस्था विश्लेषण गर्दा बजेट अग्रगामी देखिन्छ । तर, निर्वाचनका बेला घोषणापत्रमा ज्येष्ठ नागरिकलाई रु पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्‍याउने स्पस्ट लेखिएको विषय कहिले कार्यान्वयन हुन्छ ? राजनीतिक क्षेत्र बेइमान भयो भने अरु क्षेत्रबाट इमान होला भनेर आशा गर्न सकिन्न ।’

सुकुम्बासीलाई लालपुर्जा दिने र घर बनाइदिन्छौं भनेर निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्ने कुरा बजेटमा नआएको भनी उनले प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

बजेट हेर्दा अब अदालत किन चाहियो ?
सांसद राधेश्याम अधिकारीले प्रस्तुत् बजेट अध्ययन र विश्लेषण गर्दा राज्यको पुनःसंरचनाप्रति हामी प्रतिबद्ध छौं कि पछि हट्न खोजेका छौं भन्ने प्रश्न सत्तापक्षकै सांसदबाट आएको उल्लेख गर्दै ‘प्रधानमन्त्रीको कार्यालयलाई छुट्याइएको बजेटको परिमाणले त्यसलाई पुष्टि गरेको छ’–भने ।

‘संघीयता र गणतन्त्रलाई जोगाउने हो भने सबैभन्दामाथि कानुन हुनुपर्छ, संवैधानिक सर्वोच्चताको सम्मान गर्नुपर्छ, न्यायालयलाई एक प्रतिशत पनि बजेट नछुट्याउने हो भने अदालत नै किन चाहियो ?’ भनी प्रश्न गर्दै उनले कृषि र रोजगारीमा लक्ष्य पुर्‍याउनै नसक्ने ढंगबाट बजेट ल्याएको बताए ।

बजेट हेर्ने नजरमा भरपर्छ
सांसद कालीबहादुर मल्लले प्रस्तुत् बजेटको सार र चरित्रलाई हेर्दा आर्थिक क्षेत्रको अन्तरविरोधलाई सम्बोधन गर्ने प्रयत्न भएको बताए ।

उनले भने–‘बजेट हेर्ने नजरमा भरपर्छ, बजेट राष्ट्रिय चरित्रको, वित्तीय र आर्थिक अनुशासन कायम गर्ने, राष्ट्रिय पुँजी निर्माण गर्नेखालको छ ।’ छलफल जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्