
राजनीतिक प्रतिबद्धतालाई ध्यान नदिइ आर्थिक दृष्टिलाईमात्र ख्याल गर्दा समस्या आउनेतर्फ सत्तारुढ दलका सांसदले ध्यानाकर्षण गराएका छन् भने विपक्षी सांसदले बजेटलाई ‘प्राथमिकताविहीन दस्तावेज’ भनेका छन् ।
बजेटमाथिको छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटले जनतालाई थप निराश बनाएको बताए ।
प्राथमिकताविहीन ढंगबाट बजेट बनाइएको भन्दै उनले पूर्वाधार, सामाजिक सुरक्षा, करवृद्धिलगायतका विषयमा बजेट हेर्दा सरकार गल्दै गएको अनुभूति भएको टिप्पणी गरे ।
निर्वाचनकाक्रममा जनताबीच गरेको प्रतिबद्धताबाट सरकार पछि हटेको भन्दै उनले सबैलाई रिझाउन खोज्दा बजेटले कसैलाई पनि सन्तुष्ट गराउन नसकेको बताए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नि सापकोटाले पनि बजेटप्रति चित्त दुुखाउँदै अर्थमन्त्रीमा राजनीतिक ज्ञानको कमी हुँदा निर्वाचनकाक्रममा व्यक्त भावना बजेटमा नसमेटिएको टिप्पणी गरे ।
बेपत्ता तथा सहिद परिवारलाई राहतका कार्यक्रम आउन नसक्नु, बजेट र नीति तथा कार्यक्रम प्रभावकारी नहुनु एवं प्रधानमन्त्री र मन्त्रीहरुबीच राम्रो समन्वय नहुनुले थुप्रै प्रश्न उब्जाएको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्ध मुलुकको सपना र चाहना भएपनि बजेटले त्यस्ता कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गरे ।
‘सकारात्मकता भनेको उखान टुक्काले भरिएको सरकारले ल्याएको बजेटमा उखान टुक्का नआउनुमात्र हो’ कार्कीको टिप्पणी थियो ।
ज्येष्ठ नागरिक र गम्भीर प्रकृतिका बिरामीका लागि कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेका काम बजेटमा उल्लेख नगरिको भन्दै उनले आपत्ति जनाए ।
सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि बजेटले शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक पूर्वाधार विकासमा प्राथमिकता निर्धारण गरेको जिकिर गरे ।
बजेट अग्रगामी रहेको र जनस्तरबाटै स्वागत भएको दावी गर्दै उनले ‘विपक्षी दल डाहले विरोधमा’ उत्रेको तर्क गरे ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्र राय यादवले बजेटले तराई–मधेसलाई विभेद गरेको टिप्पणी गरे ।
प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल अझै केही दिन चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्