Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


काँधमा राहत सामग्री बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि


0
Shares

पूर्णप्रसाद न्यौपाने

ओखलढुंगा, कात्तिक २२ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत दिएको छ । दुईदिन अघि आगलागीबाट चौपायासहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिहरुले घरैमा पुगेर राहत दिएका हुन् ।

सडकको पहुँच नभएकाले तत्काल आवश्यकीय सामानहरु बोकैरै लगेर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताईन् । ‘पीडितको पिडामा थोरै भए पनि मल्हम लगाउन प्रयास गर्‍यौं,’ राईले भनिन्, ‘सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामाग्री लिएर गयौं, स्थानीय सरकारको तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौं ।’

राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष सविता राई सहितका जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए ।  

गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्ल्याङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडा अध्यक्ष उमेश कार्कीले जानकारी दिए । ‘सबैतिर तिहारको रौनक हुँदा उनिहरुलाई पनि थप निराशा नहोस् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व प्रदान गरेको छ,’ अध्यक्ष कार्कीले भने । उनका अनुसार वडाले प्रतिपरिवार ५ हजारका दरले नगद सहयोग गरेको छ ।

नेपाली कांग्रेसका स्थानीय नेता राममणी राईले पनि वाक्साका अग्निपिडितलाई चामल, नुन तेल लगायतका सामाग्री सहयोग गरेका छन् । 

केहीदिन अघि बच्चाले महुरीको घारमा आगो लगाउन खोज्दा सुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चारवटै घरका पशु चौपाया र घरभित्र भएको धनमाल पूर्ण रुपमा नष्ट भएको थियो । 

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन् । धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् । आगोले एक करोड रुपैयाँ हाराहारीमा क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडितहरु छिमेकी र आफन्तको सहारामा बसेका छन् ।