१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


बजेट लोकप्रियताका लागि नभइ उत्पादनमुखी : मुख्यमन्त्री गुरुङ


0
Shares

प्रदेश नम्बर–४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सोमबार पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दीगो विकासमा आधारित योजनालाई लक्षित गरी बजेट ल्याउन लागेको बताए ।

पर्यटन, ऊर्जा, कृषिको आधुनिकीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रदेश सरकारले अघि बढाउने उनले बताए ।

ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने धारणा राख्दै उनले यहाँका उद्योगलाई २४ घन्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको बताए ।

प्रदेश सरकारले यहाँको आवश्यकताअनुरुप विकास निर्माणका साथै ऊर्जा विकासमा लगानीको प्रत्याभूति गर्नेमा उनले जोड दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश नम्बर–४ लाई दुई वर्षभित्रमा उज्यालो प्रदेश बनाउने सरकारको तयारी रहेको बताउँदै ऊर्जा उत्पादन गरी अरुलाई बिक्री गर्नसक्ने क्षमता बढाउने गरी योजना निर्माण गर्ने उल्लेख गरे ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्यालले नगरको फोहरलाई ऊर्जाकारुपमा परिणत गर्नसकिने र यसले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव राख्ने बताए ।

नेपाल बायोग्यास प्रवद्र्धन संघ प्रदेश नम्बर–४ का अध्यक्ष सोमनाथ बाँस्तोलाले वातावरणीय प्रदूषणलाई कम गर्दै फोहरबाट मोहोरमा परिणत गर्नसकिने हुँदा बायोग्यासको विकास आवश्यक रहेको धारणा राखे ।

उनले प्रदेशका विभिन्न ठाउँमा बायोग्यास प्लान्टको विकासलाई अघि बढाउनसकिने र त्यसका लागि बायोग्यास प्रवद्र्धन संघ सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, ऊर्जा व्यवसायी, सन्चारकर्मीलगायतको सहभागिता थियो । रासस