
तर, तीन वर्षसम्म पनि ती स्थानको संरक्षण र पुनःनिर्माण हुन सकेन । सरकार भने बल्ल त्यस्ता स्थानको निर्माण गर्ने तयारीमा जुटेको छ ।
भूकम्पले उपत्यकालगायत देशका विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदा र धार्मिक तथा सांस्कृतिक महत्व बोकेको स्थानमा असर पार्यो । अधिकांश संरचना ध्वस्तप्रायः भयो ।
भूकम्प अतिप्रभावित १४ जिल्लाका ८०० भन्दा बढी मन्दिरमा क्षति पुग्यो । तीमध्ये १५० भन्दा बढी मन्दिर त पूर्णरुपमै क्षति भए ।
१६० भन्दा बढी मन्दिर आंशिक र अरु मन्दिर र सांस्कृतिक सम्पदामा सामान्यरुपमा क्षति पुग्यो । यसबीचमा तीन वर्षको अवधि पनि पूरा भयो । तर, भत्किएका सबै संरचना पुनःनिर्माणको पखाईमा रहे ।
केही स्थानमा काम भएपनि पुनःनिर्माणले गति लिन सकेन । सरकार अब बल्ल निर्माणका लागि योजना बुन्दैछ ।
भूकम्पले पूर्णक्षति पुर्याएका सम्पदाको ७० प्रतिशत काम भएको दाबी पुरातत्व विभागको छ । उसले अबको तीन वर्षभित्र पुनःनिर्माणको सबै काम सक्ने दाबी पनि गरेको छ ।
केही स्थानमा भर्खरै काम सुरु भएको देख्दा भने विभागले दाबी गरेझैं तीन वर्षमा काम सकिनेमा ढुक्क हुने अवस्था छैन ।
भूकम्प गएको तीन वर्षसम्म नेपाली सभ्यता र संस्कृतिको पहिचान बोक्दै विश्वसम्पदा सूचीमा परेका स्थानकोसमेत पुनःनिर्माण नथालिनुले विभागले दिएको तथ्यांक र जिकिरप्रति नै विश्वास गर्न गाह्रो पर्दछ । अझैपनि सांस्कृतिक सम्पदाहरु टेकोको भरमा ठडिएका छन् ।
तर, सरकारी निकाय भने तीव्ररुपमा काम गरेर तीन वर्षमा सकाउने जिकिर गर्दछ ।
भूकम्प गएयतामात्र पाँचओटा सरकार फेरबदल भए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै दुईपटक सिंहदरबारको कुर्सीमा पुगिसके । तर, पुनःनिर्माणको विषय राजनीतिक ठट्टामात्र बनिरह्यो ।
प्रतिक्रिया दिनुहोस्