
काठमाडौं, कात्तिक २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छन् ।
नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपराह्न आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणमा सबै दल एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएकी हुन् ।
मुलुकमा लोकतन्त्रसहितको ठूलो राजनीतिक परिवर्तन गर्न राजनीतिक दलहरुले निर्णायक भूमिका निर्वाह गरेकाले अब देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल पार्नसमेत दलहरु एकजुट हुनुपर्ने अपरिहार्यता उनले दर्शाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले आर्थिक विकासको अभियानलाई तीव्रगतिमा अघि बढाउन आफ्नो तर्फबाट सरकार र राजनीतिक दलहरुलाई सदाझैं सक्दो सहयोग रहने दृढता व्यक्त गरेकी थिइन् ।
शुभकामना आदान–प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, पूर्वसभामुखहरूलगायत नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका प्रमुख नेताहरुको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्