
प्लास्टिकको प्रयोगले जनजीवनलाई सजिलोमात्रै बनाएको छैन, यसको प्रयोगले वातावरणीय चुनौती पनि उत्तिकै बढाएको छ ।
प्लास्टिकको प्रयोग दिनानु दिन बढ्दो छ । घरायसी प्रयोजनदेखि हवाईजहाजसम्म यसको प्रयोग गरिन्छ ।
परम्परागत सामग्रीको प्रयोग गरी बनाइने धेरै सामानहरुलाई पनि प्लास्टिकका सामानले प्रतिस्थापन गरिरहेका छन् ।
यसको प्रयोग विश्वव्यापीरुपमा बढ्दा यसको प्रयोगपछि राम्रो व्यवस्थापन हुन नसक्नु मुख्य चुनौती बनेको छ ।
प्लास्टिक प्राकृतिकरुपमा नकुहिने हुँदा लामो समयसम्म जमिनमुनि रहिरहन्छ । फलस्वरुप माटो र पानी प्रदूषित हुन्छ । जसलाई ‘प्लास्टिक पोलुसन’ भन्ने गरिन्छ ।
नकुहिनेमात्रै होइन, जलाएर नस्ट गर्दा धुवाँको माध्यमबाट विषालु ग्यास हावामा मिसिएर वायुमन्डल नै प्रदूषित हुन्छ । जसमा ‘हर्मोनल डिसअर्डर’ गराउनेदेखि क्यान्सरसम्म गराउने तत्व रहने गर्दछ ।
प्लास्टिकको न्यून प्रयोग, पुनः प्रयोग र ‘रिसाइकल’ नै प्लास्टिक व्यवस्थापनको अहिलेसम्मको सही बाटो हो ।
मंगलबार विश्व वातावरण दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्लास्टिक व्यवस्थापनसम्बन्धी नीति–नियम ल्याउने प्रतिबद्धता गरेका छन् ।
काठमाडौंमा वि.सं. २०७२ वैशाख १ गतेबाट प्लास्टिकको झोलामा सरकारले प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्ध सोही वर्ष आएको शक्तिशाली भूकम्प र औद्योगिक क्षेत्रको असहयोगले फितलो भएको वातावरणविद् डा. कृष्णचन्द्र पौडेलले बताए ।
प्लास्टिक पोलुसन नियन्त्रणका लागि रिसाइकल गर्न सम्भव नहुने प्लास्टिकको प्रतिबन्ध गर्नुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्