२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७५ पुग्यो


0
Shares

यस प्रकोपको कारण अझैपनि करिब २०० व्यक्ति बेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।

राजधानी सहरनजिकैको एक स्थानमा भएको सो ज्वालामुखी विस्फोट एक शताब्दीयताकै शक्तिशाली भएको पुष्टि गरिएको छ ।

उक्त स्थानमा यस वर्षमात्र दुईपटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन् ।

मंगलबार र बुधबार बिहान केही थप शव फेलापरेपछि सो संख्या ७५ पुगेको र अझै ठूलो संख्याका नागरिक हराइरहेका मध्यअमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ ।

ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउन हजारौंको संख्याका व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएका कैयौं व्यक्तिले आफ्ना आफन्त हराइरहेको गुनासो गरेका छन् ।

विस्फोटमा करिब १०० भन्दा बढी घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

आइतबार राति भएको सो प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ ।

सेना र प्रहरीले उद्धारको काम जारी राखेका छन् । उनीहरुको सहयोगमा ठूलो संख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ ।

ज्वालामुखीबाट ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको लेदो बग्नेक्रम बुधबारसम्म पनि रोकिएको छैन । यस्तो भेल मानवस्वास्थ्यका लागि घातक हुनसक्ने जानकारी स्थानीय रेडियोहरुले दिइरहेका छन् । रासस/एएफपी