
यसअघि, ६४ ओटा विभाग हुने गरेकामा अब ५४ ओटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृतिअनुसार पहिले रहेका १० ओटा विभागलाई गाभेर ५४ ओटामात्र विभाग बनाइएको हो ।
मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता अधिकारीले एउटै प्रकृति र संघमा कार्यबोझ कम भएका विभागलाई गाभिएको बताए ।
काम, अधिकारअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ती विभागको टुंगो लगाइएको हो ।
मन्त्रालयका उपसचिव सालिक दाहालकाअनुसार घरेलु तथा साना उद्योगलाई उद्योग विभागमा, आपूर्ति, व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू–सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालिम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा गाभिने भएका छन् ।
यसैगरी, प्रहरी किताबखाना र विद्यालय–शिक्षक किताबखानालाई निजामती किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइने भएको छ ।
मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले मन्त्रालयको काम र प्रकृति हेरेर ती विभागको टुंगो लगाएको हो । समितिले गत फागुन २८ गतेदेखि काम गरेको थियो ।
यसरी नयाँ बनाइएका विभागको स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेस गर्ने र सो बैठकले स्वीकृत गरेपछिमात्र लागू हुने मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्