Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘धूमपान नियन्त्रण गर्न सकिएन’


0
Shares

काठमाडौं महानगरपालिकाले शुक्रबार गरेको कार्यक्रममा सरोकारवालाहरुले सार्वजनिक स्थानमा नै धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग हुँदासमेत सरकारले केही गर्न नसकेको गुनासो गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले काठमाडौं सहरलाई धूमपान तथा सुर्तीजन्य पदार्थमुक्त गर्ने भनी गरिएको सम्झौताअनुसार नेपालले काम गर्न नसकेको स्वीकार गरे ।

विश्वका ५० ओटा सहरलाई ‘हेल्दी सिटी’ बनाउने भनी एक वर्षअघि सुरु गरिएको अभियानमा नेपालमा पनि हस्ताक्षर गरेको छ ।

विश्व स्वास्थ्य संगठनका सद्भावनादूतसमेत रहेका अमेरिकी नागरिक माइकल ब्रुमरले सुरु गरेको सो अभियानमा धूमपान र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एक करोड रुपैयाँसमेत नेपालले प्राप्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

विश्वमा धूमपानका कारणलेमात्र वर्षेनि ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । तीमध्ये १० लाखले अरुले गरेको धूमपानका कारण ज्यान गुमाउने गरेका छन् ।

८० प्रतिशत धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग विकासोन्मुख देशमा हुने गरेको जनाइएको छ ।

४५ वर्षदेखि ६९ वर्षसम्मका ६१.८ प्रतिशत पुरुष र २९.८ प्रतिशत महिलाले धूमपान गर्ने गरेको सन् २०१७ को तथ्यांकले देखाएको छ ।

राष्ट्रिय सूचना तथा सन्चार केन्द्रकी प्रमुख सूचना तथा शिक्षा प्रशासक डा. राधिका थपलियाले प्रत्येक स्थानीय तहमा धूमपान तथा सुर्तीजन्य पदार्थको अनुगमन गर्ने व्यक्ति खटाइएको भएपनि काम भने प्रभावकारी हुन नसकेको बताइन् ।