
विराटनगर, जेठ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई धनीहरुको देशको रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल अहिलेसम्म गरिब बस्नेहरुको देशका रुपमा चिनिएको भन्दै अब धनी जनता बस्ने देशको रुपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले राष्ट्र निर्माणको महान अभियान लिएर सरकार अघि बढेको भन्दै केही वर्षभित्र बजेट पुगेन भन्ने गुनासो नै आउन नदिने बताए ।
अहिलेको सरकार कुराको प्रतिस्पर्धामा नभई कामको प्रतिस्पर्धामा अघि बढ्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट पनि फरक ढंगको भएको बताए ।
यसअघिका सरकारले राजनीतिलाई केन्द्रमा राखेर बजेट ल्याउने गरेको भए पनि अब दीर्घकालीन सोचका साथ बजेट आएको उनको भनाइ थियो ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार प्रतिपक्षीलाई पेलेर नभई समेटेर अघि बढ्ने पक्षमा रहेको स्पष्ट पारे ।
उनले दुई तिहाईको सरकार भए पनि देशलाई सर्वसहमतिका आधारमा अघि बढाउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्