१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


सडक दुर्घटनामा वर्षेनि दुई हजारको मृत्यु, सबैभन्दा बढी मोटरसाइकल दुर्घटना (भिडियो)


0
Shares

अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको छ । सडक र भौगोलिक अवस्थाका कारणले पनि दुर्घटना हुने गरेका छन् ।

नेपालमा वर्षेनि करिब १० हजार सवारी–साधन दुर्घटना हुने गरेको छ । दुर्घटनामा करिब दुई हजारजनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ । चार वर्षयताको मात्र तथ्यांक केलाउने हो भने पनि मृत्युको दर बढिरहेको छ ।

वि.सं. २०७१/०७२ मा दुई हजार चारजनाको मृत्यु भएकामा ०७२/०७३ मा दुई हजार ६ जना, ०७३/०७४ मा दुई हजार ३८४ जना तथा ०७४/०७५ को वैशाखसम्ममा दुई हजार ९७ जनाको मृत्यु भइसकेको छ ।

चालक र सहचालकको लापरबाहीकै कारण अधिकांश दुर्घटना हुने गरेको पाइएको छ ।

त्यसैगरी, सडकको अवस्था, भौगोलिक बनावट र पुराना गाडीको प्रयोगले पनि दुर्घटना हुने गरेको छ । कतिय अवस्थामा यात्रीको लापरबाहीले पनि दुर्घटना हुने गरेको देखिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले सडकको स्तर र चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण रहेको बताए ।

सवारी नियम उल्लंघन गर्दा पनि धेरै दुर्घटना हुने गरेको तथ्यांक छ । आममानिसमा ट्राफिक नियमबारे जानकारी नहुँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

मानिसमा ट्राफिक नियमबारे चेतनाको विकास गर्न पाठ्यक्रममै ट्राफिक ज्ञान दिने व्यवस्था पनि गर्नुपर्ने प्रवक्ता थापा बताउँछन् ।

नेपालको भौगोलिक अवस्था पनि जटिल छ । पहाडी क्षेत्रमा कच्ची र साँघुरो सडकका कारण कतिपय दुर्घटना भएको देखिन्छ ।

त्यसैगरी, मादकपदार्थ सेवा गरेर सवारी चलाउँदा पनि दुर्घटना हुने गरेको छ ।

दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ । त्यसले पनि काठमाडौं उपत्यकामा भने दुर्घटनामा केही कमी आएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता वसन्तकुमार पन्त बताउँछन् ।

भिडियो हेर्नुहोस्