कोरोनाको कहर, हिति सम्पदाको रहर (भिडियो) • Image Khabar Image Khabar


कोरोनाको कहर, हिति सम्पदाको रहर (भिडियो)


Imagekhabar
४ असार २०७७, बिहीबार २०:१८

कोरोनाको कहर, हिति सम्पदाको रहर (भिडियो)

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, असार ४ । कोरोना महामारीकाबीच पछिल्लो समय हात धुन विभिन्न ठाउँमा पानीको ट्यांकीहरुको व्यवस्था गरिएको छ ।

यस्तो अवस्थामा हाम्रो पानी वितरण प्रणाली मौलिक हिति सम्पदाको महत्वलाई भने थप उजागर गरेको छ । अभियन्ताहरु हिति सम्पदा पुनःजीवित गर्नुपर्ने बताउँछन् ।

ढुंगेधारा पानीको सामान्य धारामात्र होइन, यो एक सभ्यता हो, यिति अथवा हिति सम्पदाको ।

मानव सभ्यताको विकासक्रम खोज्ने हो भने सबै ठाउँमा नदी किनार छानेर मानव बसोबास सुरु भएको देखिन्छ ।

नेपालमण्डलको सभ्यता पनि वाग्मतीलगायतका नदीहरुको किनारामा विकसित भएको पाइन्छ ।

लिच्छविकालभन्दाअघिदेखि पानी वितरण प्रणालीको विकासका लागि कलात्मक र साँस्कृतिकरुपमा मौलिक पहिचान बोकेको हिति सम्पदा रहेको पाइन्छ । तर, वर्तमान अवस्थामा यो सम्पदा अतिक्रमणको चपेटामा परेको छ ।

हाम्रा पुर्खाले गर्मीमा चिसो र जाडोमा तातो पानी बग्ने, विभिन्न खनिजपदार्थ र स्वादको पानी निस्कने हितिहरु टोल–टोलमा निर्माण गरेका थिए ।

तर, पुर्खाको ज्ञान, सीप र प्रविधिको महत्व बुझेर अहिलेको पुस्ताले यसलाई व्यवहारमा ल्याउन सकेको छैन । सुन, चाँदीजडित हितिहरु अहिले संरक्षणको पर्खाइमा छन् ।

कोरोना महामारीका कारण अहिले साबुन–पानीले हात धुन विभिन्न सार्वजनिक स्थानमा प्लास्टिकका ट्यांकी राखिएको छ । व्यावहारिकरुपमा ठिकैजस्तो लागेपनि हामीले विगतको परम्परा भने भुलेका छौं ।

विगतमा विदेशबाट र बाहिरबाट आएकाहरुलाई हात–खुट्टा धुन टोल–टोलमा हितिसमेत राखिएको हुन्थ्यो । जुन कुरा अहिलेको पुस्तालाई थाहा छैन वा बिर्सिसकेका छन् ।

सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरकाअनुसार प्लास्टिक ट्यांकीहरु व्यवस्थित नभएकोले भविष्यको लागि पनि हिति झन् महत्वपूृर्ण भएको बताउँछन् ।

बढ्दो अव्यवस्थित सहरीकरणका कारण जमिनभित्र आकाशेपानी छिर्न नपाउने अवस्था छ भने पानीको मूल सुकेका छन् । राजकुलोहरु नस्ट भएका छन् ।

हिति प्रणाली हाम्रो धार्मिक कर्मसँगसमेत जोडिएको छ । त्यसैले यही महत्वलाई आत्मसात् गर्दै हिति संरक्षण र सरसफाइको काम पनि भइरहको छ ।

पाटनका सौग टोल सुधार समितिका अध्यक्ष सानुकृष्ण चित्रकारले व्यक्तिगत सरसफाइका लागि पनि सार्वजनिक हिति महत्वपूर्ण भएकोले यसको संरक्षण गर्नुपर्ने बताउँछन् ।

सार्वजनिक हितिहरु निर्माण, व्यवस्थापन, सरसफाइ, रेखदेख, मर्मत र नियमनका लागि गुथिसमेत राखेको हुन्थ्यो । तसर्थ, गुथि मास्ने होइन, गुथिअन्तर्गत् हिति सम्पदालगायतका सबै मौलिक सम्पदाको संरक्षण गर्नु सरकारको दायित्व हो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्