
दीपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, असार ४ । कोरोना कहरका कारण रोकिएको लाखौं विद्यार्थीको पठन–पाठनलाई अघि बढाउन विद्यालयस्तरमा वैकल्पिक माध्यमबाट पढाउन सुरु गरिएको छ ।
निजी विद्यालयहरुले अघिल्लो महिनादेखि नै ‘भर्चुअल’ कक्षा सञ्चालन गरिरहेकोमा शिक्षा मन्त्रालयले यही असार १ गतेबाट वैकल्पिक सिकाइलाई अघि बढाएको हो ।
यसको प्रभावकारिताको विषयमा भने मिश्रित प्रतिक्रिया आएको छ ।
शैक्षिकसत्र खेर जान नदिन असार १ गतेबाट विद्यालय तहमा देशैभर वैकल्पिक सिकाइ प्रविधिको सुरुआत भयो ।
वैकल्पिक सिकाइ प्रविधिबाट प्राथमिकदेखि माध्यमिक तहसम्म अध्ययनरत् देशका ७० लाखभन्दा बढी विद्यार्थीलाई अनलाइन, रेडियो, टेलिभिजन, स्वअध्ययन पुस्तिका पुर्याएर पठन–पाठन अघि बढाइएको छ ।
विद्यार्थीहरु भने वैकल्पिक माध्यमबाट भइरहेको पठन–पाठनप्रति त्यति सन्तुष्ट देखिँदैनन् ।
यद्यपि, विद्यालय बन्द रहेको बेला भर्चुअल कक्षाले आफूहरुलाई व्यस्त राखेको र समयको सदुपयोग भएको विद्यार्थीहरुको भनाइ छ ।
अर्कोतर्फ अभिभावकहरु पनि वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएपनि विषम परिस्थितिमा छोरा–छोरीको पढाइ निरन्तर भएकोमा भने खुसी देखिएका छन् ।
कोरोना महामारीका कारण शैक्षिक संस्थाहरु कहिले खुल्ने भन्ने टुंगो छैन । यस्तो अवस्थामा इन्टरनेटको माध्यमबाटै कक्षा सञ्चालन गर्नुको विकल्प छैन ।
तर, भर्चुअल कक्षा सञ्चालनमा शिक्षकहरुसमेत अभ्यस्त नहुँदा समस्या भइरहेको शिक्षकहरुको अनुभव छ ।
नेपालमा खुला विश्वविद्यालयले वैकल्पिक माध्यमबाटै सम्पूर्ण ‘कोर्स’ पढाउँदै आएको छ ।
खुला विश्वविद्यालयका डीन प्रा. डा. रामचन्द्र पौडेल ‘अबको शिक्षा भनेकै वैकल्पिक माध्यममार्फत् हो’–भन्छन् ।
एकातर्फ ग्रामीण क्षेत्रका सबै विद्यार्थीमा बिजुलीको पहुँचसमेत छैन भने सहरी क्षेत्रमा पनि इन्टरनेट भरपर्दो छैन ।
यस्तो अवस्थामा वैकल्पिक माध्यमको पढाइबाट शैक्षिकसत्र पूरा होला भनेर विश्वास गर्न सकिँदैन । तर, अहिलेको अवस्थामा विद्यार्थीहरुलाई पठन–पाठनमा व्यस्त बनाइराख्न भने यसको विकल्प पनि छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्