रासायनिक मलको आपूर्ति मागको आधामात्रै • Image Khabar Image Khabar


रासायनिक मलको आपूर्ति मागको आधामात्रै


Imagekhabar
४ असार २०७७, बिहीबार १९:१३

रासायनिक मलको आपूर्ति मागको आधामात्रै

नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज)
काठमाडौं, असार ४ । वर्षेनि बाली लगाउने समयमा मलको अभाव भएको सुनिनु कुनै नौलो कुरा होइन । कृषिप्रधान मुलुकमा रासायनिक मलको आपूर्ति मागको आधामात्रै हुँदै आएको छ ।

तरपनि सरकारी कम्पनी भने मल पर्याप्त भन्डारण भएको भन्दै आत्तिनुनपर्ने रटान लगाउन छाड्दैन ।

कृषि सामग्री कम्पनी लिमिटेडले चालू आर्थिक वर्षका लागि रासायनिक मल तीन लाख चार हजार मेट्रिकटन खरिद गरेको छ । तीमध्ये करिब एक लाख मेट्रिकटन ‘लकडाउन’का कारण बाटोमै रोकिएको छ भने २५ हजार मेट्रिकटन साउनभित्रै आउने कम्पनीले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि चार लाख ५० हजार मेट्रिकटन मल खरिद गर्ने योजना बनाएको थियो । सोमध्ये तीन लाख चार हजार मेट्रिकटन कृषि सामग्री कम्पनी र बाँकी मल साल्ट ट्रेडिङ कर्पाेरेसनले खरिद गरेको छ ।

तर, सरकारी तथ्यांकअनुसार नै देशभरिको धान, गहुँ र मकैखेतीका लागि आठ लाख मेट्रिकटन मल आवश्यक पर्छ ।

यो तथ्यांकमा व्यावसायिक तरकारीखेती तथा अन्य नगदेबालीका लागि चाहिने मल जोडिएको छैन । यसका लागि कति मल चाहिन्छ भन्नेबारे अझैसम्म अध्ययन पनि भएको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडले भने यो वर्ष लकडाउनको कारण मलको मौज्दात हुन नपाएको बताएको छ ।

व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या वार्षिकरुपमा बढ्दो छ । तर, किसानले समयमै पर्याप्त मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनीले अघिल्लो वर्ष यो समयसम्म दुई लाख ५३ हजार मेट्रिकटन मल बिक्री गरेको थियो । तर, यो वर्ष दुई लाख आठ हजार मेट्रिकटन बिक्री गरेको छ ।

तत्काल धानका लागि नौ हजार मेट्रिकटन मल भए पुग्ने भएकाले हाललाई भने डीएपी मलको कुनैपनि समस्या नरहेको कम्पनीले जनाएको छ ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको सरकारले कृषि उत्पादन बढाउन मागअनुसारको मल आपूर्ति गरी उचित व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्