काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन र सडक विस्तारका कारण काठमाडौंलाई धुलोमुक्त सहर बनाउन मुस्किल भएको जिकिर गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सडक विभाग र मेलम्ची खानेपानी आयोजनासित समन्वय गरेर काठमाडौंलाई धुलोमुक्त बनाउन आफूले प्रयास गरिरहेको दाबी पनि गरे ।
काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त बनाउन महानगरले जेट र ब्रुमरजस्ता उपकरण खरिद गरिसकेको भन्दै मेयर शाक्यले पाँचओटा ब्रुमर आउने प्रक्रियामा रहेको जानकारी दिए ।
मासिक २५ करोड रुपैयाँ सफाइका कर्मचारीका लागि खर्च भइरहँदा पनि काठमाडौं सफा नभएको उनको भनाइ थियो ।
आफू मेयर भएको १७ महिनामा महानगरपालिकाभित्र धेरै काम गरेको दाबी गर्दै उनले सम्पदा संरक्षण तथा भित्री सडकको पुनःनिर्माणको काम धेरैजसो सम्पन्न भइसकेको दाबी गरे ।
पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसित आवश्यक छलफल गरेर रानीपोखरी पुनःनिर्माणको काम सुरु गर्ने मेयर शाक्यको भनाइ थियो ।
मेयर शाक्यले मापदन्डविपरीत बनेका भवनलाई कारबाही गर्ने भन्दै चालू आर्थिक वर्षमा महानगरपालिकाले सडक पुनःनिर्माण र सम्पदा पुनःनिर्माणको कामलाई जोड दिएको पनि बताए ।








प्रतिक्रिया दिनुहोस्