१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


हात्ती प्रजननका लागि ‘रोनाल्डो’ र ‘ध्रुवे’मै निर्भर


0
Shares

नारायण अधिकारी 

चितवन, कात्तिक १८ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ । निकुञ्जमा प्रजनन्योग्य भाले हात्तीको कमी छ । 

हात्ती प्रजनन तथा तालीम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका अधिकांश पोथी हात्तीलाई रोनाल्डोले गर्भाधान गराउँदै आएको छ । उनले भने, ‘रोनाल्डोले गर्भाधान गराएपछि १२ भन्दा बढी बच्चा (छावा) जन्मिसकेका छन् ।’

गत शुक्रबारमात्र गणेशकलीले भाले तथा असोज २३ गते पुजाकलीले पोथी बच्चा जन्माएका थिए । तिनीहरु रोनाल्डोकै सन्तान हुन् । अहिले प्रजनन केन्द्रमा रहेका गर्भिणी तीन हात्तीमध्ये कर्णालीकली र चितवनकलीलाई रोनाल्डोले नै गर्भाधान गराएको हो । 

लोकतन्त्रकलीलाई भने सुखिभारमा रहँदा ध्रुबेले गर्भाधान गराएको हो । गत वर्ष प्रजनन केन्द्रमा चार हात्तीले बच्चा जन्माएका थिए । ती सबै रोनाल्डोबाट गर्भाधान भएको चौधरीले बताए ।

अहिले खोरसोरमा नौ पोथी हात्ती छन् । तालीम नपाएका आठ तथा तालीम पाएका हात्तीका दुई बच्चा छन् । प्रजनन गराउन योग्य हात्ती नभएको चौधरीले बताए । हात्तीले २२ महिनादेखि २४ महिनामा बच्चा जन्माउने गर्दछ । 

सौराहा क्षेत्रमा पछिल्ला वर्षमा रोनान्डोले राज गर्दै आएको चौधरी बताउँछन् । उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती भए पनि प्रजननयोग्य भाले हात्ती भने छैनन् ।’ चौधरीले थपे, ‘भाले हात्ती १८ वटा भए पनि केही बच्चा तथा केही बुढा छन् ।’ निकुञ्जको पश्चिम क्षेत्रका पोष्टमा रहेका हात्तीलाई ध्रुबे नामको जङ्गली भाले हात्तीले प्रजनन् गराउँदै आएको छ । जङ्गली हात्ती रातको समयमा पोथी हात्ती रहेका ठाउँमा आउँछन् । चौधरीका अनुसार असोजको अन्तिम सातादेखि वैशाखसम्म रोनाल्डोले रात खोरसोरस्थित प्रजनन् केन्द्रमा बिताउने गर्दछ । बिहान सबेरै रोनाल्डो जङ्गलतर्फ लाग्छ । 

बच्चा जन्माएको ६ महिनापछि पोथी हात्तीमा पुनः भाले हात्ती लाग्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे जङ्गली हात्तीको भरमा प्रजनन् गराउनु परिरहेको बताउँछन् ।

पछिल्ला वर्षमा रोनाल्डोले नै प्रजनन केन्द्र धानेको उनले बताए ।

विसं २०४२ मा भारतले उपलब्ध गराएको १६ हात्ती ल्याएर शुरु गरिएको सो प्रजनन् केन्द्रमा हालसम्म २६ हात्तीका बच्चा जन्मिएका छन् । 

‘पछिल्ला वर्षमा प्रजनन् राम्रै रहेको छ,’ डा गैरेले भने । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्य उपचारको सुविधा, प्रजनन् स्वास्थ्यमा सुधारलगायत कारण प्रजननको अवस्था राम्रो भएको उनको भनाइ छ ।

जङ्गली हात्ती नआए भने प्रजननमा समस्या हुने देखिन्छ । (रासस)