३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मेलम्चीको पानी दसैंभित्र काठमाडौं ल्याउन ठेकेदार कम्पनी सहमत


0
Shares

काठमाडौं, असार ११ । सरकारले मेलम्चीको पानी आगामी दसैंसम्ममा काठमाडौं ल्याइसक्ने जनाएको छ ।

खानेपानी मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ठेकेदार कम्पनी दसैंअगाडि नै काठमाडौंमा पानी पठाउन सहमत भएको जनाएको हो ।

गत शुक्रबार खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना विकास समिति, एसियाली विकास बैंक र निर्माण कम्पनीबीच यससम्बन्धी सहमति भएको मन्त्रालयले जनाएको छ ।

खानेपानीमन्त्री बीना मगरले काम छाडेर गएको कम्पनीको उच्चस्तरीय प्रतिनिधिमन्डललाई नेपाल बोलाएर महत्वपूर्ण र ऐतिहासिक समझादारी गर्न सरकार सफल भएको दाबी गरिन् ।

सेप्टेम्बर ३० अर्थात् असोज १४ गतेभित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउन ठेकेदार तयार रहेको र कात्तिक १ भित्र राजधानीबासीलाई पानी वितरण गरिने उनले उल्लेख गरिन् ।

ठेकेदारको समय थपका सन्दर्भमा भने मन्त्रालयको असन्तुष्टि रहेको र ‘डिस्प्युट बोर्ड’को पूर्णफैसला नआउँदासम्मका लागिमात्र निर्माण कम्पनीको म्याद थप गरिएको पनि मन्त्रालयले जनाएको छ ।

डिस्प्युट बोर्डको निर्णय सच्चिएर नआए सरकार ‘आर्बिट्रेसन’मा जाने भएको छ ।

ठेकेदार कम्पनीले भूकम्प, नाकाबन्दीलगायतका कारणले काममा ढिलाइ भएको भन्दै १ अर्ब ६५ करोड रुपैयाँ ‘भेरिएसन’ लागत दाबी गर्दै आएको छ । यस्तै, ५७० दिन समयावधिको दाबी गर्दै डिस्प्युट बोर्डमा निवेदन दिएको थियो ।

२१२ दिन समय थप गरिएको र उक्त मिति जुन १४ मा सकिनुपर्ने भएपनि जुन २३ देखि लागू हुने भनेर डिस्प्युट बोर्डले अपव्याख्या गरेको भन्दै मन्त्रालयले आपत्ति जनाउँदै बोर्डलाई पत्राचार गरेको हो ।

यसैगरी, सुन्दरीजलमा प्लान्ट स्थापना गरी वाग्मतीको पानीसमेत उपत्यकामा ल्याउने कार्य अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यसरी दैनिक ४ हजार करोड लिटर वाग्मतीको पानी ल्याइने मन्त्रालयले जनाएको छ ।