
काठमाडौं, कात्तिक १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत् सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ ।
नापनक्साबमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपुर्जामा कायम गरीदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको प्राप्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
आरोपी चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
यस्तै, आयोगले मंगलबारै नेपाल विद्युत् प्राधिकरण, उपवितरण केन्द्र बूढानीलकन्ठ, काठमाडौंमा कार्यरत् इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीमाथि नयाँ मिटर जडान गर्नेक्रममा सेवाग्राहीसँग विभिन्न बहानामा रु २० हजार घुस मागेको आरोप आयोगको छ । आयोगले जरिवाना र कैद सजाय हुन माग–दाबी गर्दै मुद्दा दर्ता गरेको हो । रासस
प्रतिक्रिया दिनुहोस्