९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


सेनानीसहित करिब १८० माथि ‘कोर्ट मार्शल’ गरिँदै


0
Shares

नारायण न्यौपाने (रासस)

काठमाडौं, कात्तिक ९ । नेपाली सेनाले २०७४ सालको सैन्य भर्नामा अनियमिता गरेको अभियोगमा सेनानीसहित करिब १८० माथि ‘कोर्ट मार्शल’ गर्ने भएको छ ।

सहायक रथी सीताराम खड्काको अध्यक्षतामा गठित छानबिन समिति (कोट अफ इनक्याइरी) ले दिएको प्रतिवेदनका आधारमा जंगीअड्डाले उनीहरुमाथि कोर्ट मार्शल गर्न लागेको हो ।

उपरथी शरद गिरीको अध्यक्षतामा रहने समरी जनरल सैनिक अदालतले उनीहरुसँग बयान लिएपछि कसूरका आधारमा दन्ड र सजाय सुनाउनेछ ।

अदालतले कसूरको मात्रा हेरेर उनीहरुलाई कैद सजायदेखि बर्खास्त, घटुवा र जरिवाना गर्नेछ ।

सैन्य भर्ना गर्दा रकमको चलखेलका आधारमा तोकिएको मापदन्डभन्दा होचा, शारीरिक हिसाबले अयोग्य र नक्कली परीक्षार्थी सामेल गरेको अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानकाक्रममा समितिले करिब ३०० जनासित सोधपुछ गरेकामा करिब १८० संलग्न रहेको भनी समितिले सिफारिस गरेको थियो ।

२०७४ सालको सैन्य भर्नामा अनियमिता भएको प्रतिवेदनको आधारमा करिब १८० माथि कोर्ट मार्शलको प्रक्रिया अघि बढेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

सैन्य भर्ना छनोटसम्बन्धी घटनामा यति ठूलो संख्यामा कोर्ट मार्शल भएको यो पहिलो घटना हो ।

यसअघि, सैनिक अदालतमा सेनाभित्र खासगरी अनुशासन उल्लंघन, आर्थिक प्रलोभन र लागुऔषधमा संलग्नजस्ता विषयमा उजुरी पर्दै आएका थिए ।