
मीरा बस्नेत/नवीन स्थापित (इमेज)
काठमाडौं, कात्तिक ९ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टको बर्खास्तीपछि उनीहरुले कसको निर्देशनमा कसका लागि प्रमाण मेटाउने काम गरे ? भन्ने प्रश्न टड्कारो भएको छ ।
यसतर्फ किन अनुसन्धान अहिलेसम्म सोझिएको छैन ? भन्ने सबैको चासो छ ।
अर्कोतर्फ घटनाको तीन महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकेकामा अब थप कस्तो अनुसन्धान हुन्छ ? भन्ने अहं प्रश्न सबैले सरकारतर्फ तेर्स्याएका छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको तीन महिना पूरा भएको छ । घटनाको अनुसन्धानका लागि धेरैओटा छानबिन समिति बने । तर, अपराधी अहिलेसम्म पत्ता लागेको छैन ।
पटक–पटकका अनुसन्धानबाट घटनाको छानबिनमा प्रहरीले सुरुदेखि नै लापरबाही गरेको पुष्टि भएपछि कन्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरिएको छ ।
बम दिदीबहिनी र बर्खास्तमा परेका प्रहरी पदाधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थाल्ने हो भने सबै घटना बाहिर आउने अधिवक्ता रेनुकादेवी सिटौलाको भनाइ छ ।
बर्खास्तीसँगै उनीहरु प्रमाण नस्ट गर्ने कार्यमा संलग्न भएको भन्नेसमेत पुष्टि भएको छ ।
अब प्रश्न उठ्छ, उनीहरु किन प्रमाण नस्ट गर्ने कार्यमा संलग्न भए ? अथवा कसका लागि उनीहरुले प्रमाण नस्ट गरे ? यस विषयमा उनीहरुमाथि अनुसन्धान हुन जरुरी छ ।
अर्कोतर्फ घटनाको तीन महिना पुगिसक्दा पनि अपराधी पत्ता लगाउन सरकार असफल भएपछि अब प्रहरीले के गर्छ ? सबैका लागि चासोको विषय बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्