१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


विश्व पोलियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै


0
Shares

काठमाडौं । आज विश्व पोलियो दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।

यसैबीच रोटरी इन्टरनेशनल नेपालले ललितपुरमा एक कार्यक्रम गरी आफुहरुको अभियानले बालबालिकालाई समयमै पोलियो खोप दिनुपर्छ भन्ने चेतना अभिभावकमा आएको जनाएको छ ।

सन् २०१० को अगस्ट १० मा नेपाल पोलियोमुक्त राष्ट्र घोषित भइसकेको छ ।

तर नेपाल पोलियोमुक्त भए पनि पोलियो उन्मुलन भइनसकेकाले सचेत रहन आवश्यक रहेको विज्ञहरुले जनाएका छन् ।

अफगानिस्तान र पाकिस्तानमा पोलियोको समस्या देखिएकाले नेपालमा पनि यसको भाइरस कुनै पनि बेला आउन सक्ने सम्भावना रहेकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

सन् १९८० देखि २०१८ सम्म आइपुग्दा विश्वभर पोलियोको घटनामा ९९ प्रतिशतले कमिले आएको विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओले जनाएको छ ।

एक तथ्याङ्कअनुसार विकसित मुलुकका बालबालिकाले नियमित खोप कार्यक्रममा ३२ प्रकारका रोगविरुद्वको खोप पाउँछन् भने नेपालमा ११ प्रकारका रोगविरुद्वको खोपहरु विभिन्न दातृ निकायहरुको सहयोगमा सरकारले निःशुल्क रुपमा उपलव्ध गराउदै आएको छ ।

नेपाल सरकारले विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य संघसंस्थाहरुसंग मिलेर २०५३ सालदेखि पोलियो लगायत अन्य खोप कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको छ ।