
-उपेन्द्र खनाल/ईमेज:
तनहुँ, असार १० । तनहुँको गोरखकाली रबर उद्योग लामो समयदेखि बन्द भइरहँदा भौतिक सम्पत्ति बिग्रन थालेको छ ।
बन्द भइसकेपछि पुनर्सञ्चालनका लागि सरकारले ठोस पहल नगर्दा एकातिर करोडाँैको सम्पत्ति उपयोगविहीन बनेको छ भने अर्कोतिर उद्योगमा कार्यरत सयौं कर्मचारीको रोजगारी गुमेको छ ।
वि.सं २०४२ सालमा स्थापना भएको गोरखकाली टायर उद्योग २०७२ सालदेखि बन्द अवस्थामा छ ।
२८ करोडको सेयर लगानी रहेको उद्योगमा नेपाल सरकारको ३८ प्रतिशत ,स्थानीय समुदायको २१ प्रतिशत र बाँकी संस्थान र बैकको लगानी छ ।
उद्योग त बन्द भयो तर त्यहाँको अथाह सम्पत्ति र भौतिक संरचना लथालिङ्ग अवस्थामा पुगेको देखिन्छ ।
उद्योग सञ्चालन नभएपछि भौतिक संरचना दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।
त्यस्तै उद्योग परिषरमा रहेका सवारी साधन यत्रतत्र छरिएका छन् जसको संरक्षणमा न कसैको चासो छ न त चिन्ता नै ।
यसरी ठूलो परिमाणको सम्पत्ति दिनप्रतिदिन खेर गइरहँदा जिम्मेवार निकाय टुलुटुुलु हेरेर बसिरहेको छ ।
उद्योगमै रहेको दस करोड बराबरको कच्चापदार्थ अझै गोदाममै रहेपनि प्रयोगमा नआउँदा लथालिङ्ग भएको छ ।
उद्योग कम्पाउण्डभित्र घास उम्रेर पुरै जङ्गल जस्तै बनेको छ । उद्योग बन्द हुँदा धेरै घाटा भएको भन्दै यथाशीघ्र संचालनमा ल्याउन कर्मचारीले माग गरिरहेका छन ।
बन्द भएका उद्योगका दुई सय एकचालिस कर्मचारीले ३० महिनादेखि तलब पाएका छैनन । केही कर्मचारी भने अझै तलब पाउने आशामा दैनिक हाजिर गरिरहेका छन् ।
उद्योगको क्वाटरमा बस्दै आएका केही कर्मचारीले भने नियमित हाजिर गरिरहेका छन ।
तलब पाउने आशामै रहेका कर्मचारीलाई पाउनुपर्ने तलब दिएर उद्योग सञ्चालनमा ल्याउनुपर्ने अर्का कर्मचारी जितेन्द्र हमालको भनाइ छ ।
त्यसो त सञ्चालनमा आउने अनिश्चित भएपछि कार्यरत कर्मचारीले स्वैच्छिक अवकाशको लागि सरकारलाई पत्र पठाइसकेका छन् । तर प्रतिक्रिया अहिलेसम्म आएको छैन ।
उद्योग बन्द हुँदा केही कर्मचारीलाई मात्र होइन राज्यले समेत ठूलो आर्थिक अवसर गुमाउनुपरेको छ ।
उता गोरखा नगरपालिकाका उपमेयर बिना कुमारी श्रेष्ठले प्रदेश र केन्द्रसरकारसँग समन्वय गरेर बन्द रहेको उद्योग संचालनका लागि पहल गर्ने बताउँछन् ।
नयाँ उद्योग स्थापना हुनु त कता हो कता भएका उद्योग पनि बन्द हुने अवस्थामा पुग्नले आर्थिक क्रान्तिको यात्रालाई कठिन मात्रै होइन हाम्रो समृद्धिको नारालाई समेत गिज्याइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्