
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो विधान परिमार्जनको तयारीमा छ ।
विधानका केही व्यवस्थामा नेताहरुबीच नै कुरा बाझिएपछि अझै पनि त्यसको प्रारुप भने तयार हुन सकेको छैन ।
मुलुक संघीय ढाँचामा गएसँगै सोहीअनुसार पार्टीको विधान बनाउन गठित कांग्रेस विधान संसोधन समितिले विधान नै पुनर्लेखन गर्दैछ ।
तर विधानका केही विषयमा शीर्ष तहमा कुरा नमिल्दा समितिले बनाएको कार्यतालिकाभित्रै विधान बन्न भने सकिरहेको छैन ।
संघीय ढाँचाअनुसार नै संविधानले व्यवस्था गरेका क्लस्टरलाई समेटेर विधान बनाउने काम भइरहेको समितिले जनाएको छ ।
मंसिर ४ गतेदेखि काठमाडौंमा हुने पार्टीको महासमिति बैठकबाट विधान पारित गरेपछि अर्को वर्ष कांग्रेसका अधिवेशनहरु त्यही विधानका आधारमा हुनेछन् ।
विधान समितिमा प्रवक्ता एवं केन्द्रीय सदस्य रमेश लेखक संविधानले व्यवस्था गरेका क्लस्टरहरु रहने र प्रतिनिधित्व पनि त्यही अनुपातामा हुने गरी विधान पुनर्लेखन भइरहेको बताउँछन् ।
पार्टीलाई एकताबद्ध बनाएर सबै क्रियाशील सदस्यले काम पाउने गरी विधान बनाउने काम भइरहेको उनको भनाई छ ।
विधान परिमाजर्नका क्रममा सभापतिलाई शक्तिशाली बनाउने विषयमा भने शीर्ष तहमै कुरा मिल्न सकेको छैन । सभापति देउवा पक्षीय नेताहरु सभापतिलेलाई शक्तिशाली बनाउनुपर्नेमा छन् ।
अधिकांश मुख्य पद सभापतिले मनोनित गर्न पाउने गरी विधान बनाउने पक्षमा देउवा समूह छ । तर बरिष्ठ नेता पौडेल पक्ष भने सामुहिक नेतृत्व हुनुपर्ने अडानमा छ ।
नेता लेखक सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने विषयमा सबै एक भए पनि कुन पद कसरी निर्वाचित गर्ने भन्ने विषय छलफलबाट टुंगो लगाइने बताउँछन् ।
विधान सर्वसम्मत रुपमा नै टुंगिने गरी काम भइरहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसमा लामो समयदेखि विधानका विषयमा विवाद हुँदै आएको छ ।
पार्टीको विधान सर्वसम्मत बन्न सकेमा कांग्रेसलाई आगामी दिनमा जनतामाझ जानसमेत सहज हुने छ ।
अन्यथा नेताहरु पुनः सोही विषयमा अल्झेमा पार्टीको भविष्यसमेत अनिश्चित हुनेतर्फ सचेत हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्