५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


मासु कसरी खाने, कति खाने ?(भिडियो)


0
Shares

काठमाडौं । मासुका विभिन्न परिकारको स्वादमा रमाउँदै आफन्त र साथीभाई माझ दसैं मनाउँदै हुनुहुन्छ भने केही कुरामा तपाईले पक्कै पनि ध्यान दिनुपर्छ ।

मासुलाई सन्तुलित भोजनमा संलग्न गराएर फाइदा त लिन सकिन्छ तर अत्याधिक खाँदा स्वास्थ्यमा जटिलता पनि निम्तन सक्छ ।

आममानिसले अघिपछिभन्दा दशैंमा निकै मासु खाने गर्दछन् ।

मासुका अनेकथरी परिकार दसैंको विशेषता नै हो । अन्य परिकारको तुलनामा मासु नै अधिक खाइने सर्वसाधारणको अनुभव छ ।

मासु भिटामिन बी १२ को मुख्य स्रोतमध्येको एक हो साथै रातो मासुमा प्रचुरमात्रामा प्रोटिन र आइरन पनि पाइन्छ । यी तत्वहरु हाम्रो शरीरको वृद्धि विकासका लागी अत्यावश्यक हुन्छ ।

तर मासुमा पाइने चिल्लोले भने रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ जसले गर्दा मुटुरोगको समस्या निम्त्याउन सक्छ ।

धेरै मात्रामा रातो मासु र प्रशोधित मासुको सेवनले आन्द्राको क्यान्सरसम्म हुनसक्ने अनुसन्धानले देखाएको छ । प्रशोधित मासुमध्ये धेरै प्रयोग हुनेमा सुकुटी र ससेज पर्दछन् ।

मासुका परिकारहरु पकाउने तरिकाले पनि विभिन्न रोग निम्त्याउन सक्ने चिकित्सकहरुको भनाइ छ ।

पोलेर तयार गरिने परिकार स्वास्थ्यका लागी लाभदायक नहुने भएकाले कम खानु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको छ ।

छाला निकालिएको मासुलाई थोरै तेलको प्रयोग गरी पकाएर खानु स्वास्थ्यका लागी उपयुक्त हुन्छ ।

काँचो मासुमा विभिन्न रोग फैलाउने सुक्ष्म जिवाणुको संक्रमणको खतरा हुने भएकाले सकेसम्म काँचो मासुका परिकार नखान चिकित्सकहरुको सुझाव छ ।

मासु खाँदा रेसादार खानाको प्रयोग ५० प्रतिशत गरेमा स्वास्थ्यलाई फाईदा पुग्ने डाक्टर ल्हामो याङचेन शेर्पा बताउँछिन्

दशैंको समय घरपरिवार र आफन्तजन सँग रमाइलो गरी विताइन्छ ।

प्राय घरभित्रै मिठो खानपानका साथ मनाइने यो चाडमा शरीरलाई आवश्यक व्यायाम पनि कम हुँदास्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले चाडवाड मनाइरहँदा आफ्नो स्वास्थयमा पनि ख्याल गर्ने कि ?