१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


चाडपर्वमा भीडभाड हुने काठमाडौंका शक्तिपीठहरुको विचित्रको विशेषता (भिडियो)


0
Shares

काठमाडौं । बडादसैंको महाअष्टमीका दिन राष्ट्रप्रमुखले पनि काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठको दर्शन गर्ने गर्दछन् ।

यसअघि राष्ट्राध्यक्षको हैसियतले राजाहरुले शक्तिपीठमा पुगेर पूजाअर्चन गर्ने परम्परा थियो । तन्त्रसँग जोडिएका शक्तिपीठका आ–आफ्नै विशेषता र मौलिकता रहेको छ । 

मैतीदेवी, काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो । करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ ।

जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए ।

बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई ’माइती देवी’ हुँदै मैतीदेवी भन्ने गरिएको जनविश्वास रही आएको छ ।

काठमाडौंमा रहेको अर्को शक्तिपीठ मध्येको एक हो नरदेवी मन्दिर । देवमाला वंशावली अनुसार नरदेवी शक्तिपीठको स्थापना र प्राणप्रतिष्ठा राजा गुणकामदेवले गरेका हुन् ।

उनले देश रक्षाका लागि  नगरको मध्यभागमा नरदेवी पीठको स्थापना गरेको मानिन्छ । नरदेवीको शास्त्रीय नाउँ भने श्वेतकाली भएको देखिन्छ ।

दसैंको बेला.राष्ट्राध्यक्षले निकै महत्व दिने अर्को शक्तिपीठ हो शोभाभगवती ।  तन्त्रशास्त्रमा यिनलाई ‘वगला’ पनि भन्ने गर्दछन् ।

नेपालीहरूको जनजीवनमा अत्यन्त शुभकारिणी भगवती भनेर मानिने यी भगवतीलाई शुभाभगवती पनि भन्ने गरिन्छ ।

नवौँ शताब्दीतिर मातृका देवीको अनेकौँ मूर्तिहरू बनाउने सिलसिलामा शोभाभगवतीको पनि स्थापना गरिएकोे अनुमान छ ।

शोभाभगवती नजिकै इन्द्रायणीको मन्दिर छ । नेपाल भाषामा भने लुती अजिमा भन्ने गरिन्छ । आस्थाको देवी लुती अजिमालाई निकै शक्तिशाली देवी मान्ने गरिन्छ । 

सिंहदरबारदेखि पाँचसय मिटर पश्चिममा रहेको भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ ।

तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पूजारी बताउँछन् । दुर्गा कवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो ।

यसलाई कतै–कतै लुमडी थान पनि भनिन्छ्र । राजा गुणकामदेवले भद्रकाली मन्दिरको निर्माण गरेर खटजात्रा चलाएको विश्वास गरिन्छ ।

काठमाडौंको टेबहालस्थित संकटा देवीको मन्दिरलाई हरेक संकटको मोचन गर्ने देवीको रुपमा लिइन्छ ।

यस मन्दिरमा विशेष गरी हरेक साताको शनिबार र मंगलबार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ ।

आम मानिसलाई कुनै संकट आइ पर्यो भने वा मुद्दा मामिला तथा झै–झगडाबाट मुक्ति पाउनका लागि संकटा देवीको मन्दिरमा गएर पूजा तथा आराधना गर्ने प्रचलन छ । 

गुह्येश्वरी मन्दिर पशुपतिनाथको मन्दिर नजिकै बागमती नदीको दक्षिणी किनारामा रहेको छ  ।

सतीदेवीको गुह्य पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले गुह्येश्वरी नाम रहन गएको विश्वास गरिन्छ ।

गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ । यो पुराणमा वर्णित ५१ शक्तिपीठहरू मध्ये एक हो ।

काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये नक्साल भगवती पनि एक हो । यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ ।

भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।

अघिपछि पनि भक्तजनको विशेष घुइँचो लाग्ने यी शक्तिपीठहरुमा नवरात्रमा भने विशेष पूजापाठ हुने गरेको छ ।