Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


विखन्डनकारीलाई कारबाही गर्नुपर्छ : गच्छदार


0
Shares

विराटनगर, असोज २६ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विखन्डनको कुरा उठाउने जो–कोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सन्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई खन्डित बनाइ राज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पुर्‍याउनेलाई कारबाही गर्नु सरकारको दायित्व रहेको प्रस्ट पारे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले संविधान कुनै धार्मिकग्रन्थ नभएको बताउँदै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले नेपाली कांग्रेसभित्र रहेको गुट–उपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको जिकिर गरे ।

नेता गच्छदारले कांग्रेसको आन्तरिक विवादको कारण बस्न नसकेको केन्द्रीय समितिका कारण नेपाल लोकतान्त्रिक फोरमको समायोजन रोकिएको बताउँदै दसैंपछि बस्ने समितिको पहिलो बैठकको कार्यसूची नै लोकतान्त्रिक फोरमको समायोजनको निर्णय हुने जानकारी दिए ।

नेता गच्छदारले रेशम चौधरी अन्यायमा परेको र अदालतबाट छिट्टै मुद्दा फैसला भइ सबै कुरा समाधान हुने विश्वास व्यक्त गरे ।

उनले विगतको निर्वाचनमा कांग्रेसको पराजयको भागीदार सभापतिसहित सम्पूर्ण केन्द्रीय समिति रहेको बताउँदै एकजनालाईमात्र दोषी ठहर्‍याउनु गलत भएको विचार व्यक्त गरे । रासस