दीपक श्रेष्ठ/देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, असोज २६ । वर्षायाम सकिएर आकाश खुल्दै जाँदा आकाशमा चंगा उडेको दृष्य देखिन थालेपछि दसैं नजिकिएको संकेतकारुपमा लिने गरिन्थ्यो । तर, अहिले त्यस्तो दृष्य बिरानो हुन थालेको छ ।
चंगा उडाएर मनोरन्जन लिने पुस्ता घरभित्रै विद्युतीय ‘ग्याजेट’हरुमा रमाउन थालेपछि उपत्यकाको आकाशमा चंगा देखिन छाडेको हो ।
चंगामात्रै होइन, केही समययता पिङ पनि देखिन छाडेको छ ।
यो मौसम उपत्यकाको आकाश चंगाले भरिभराउ हुने समय हो । कौसीबाट चंगा उडाएर मनोरन्जन लिनेहरुको कुनै कमी हुँदैनथ्यो । तर, हिजोआज उपत्यकाको आकाश चंगाविहीन देखिन्छ । फाट्टफुुट्टमात्रै चंगा उडाएको देख्न पाइन्छ ।
पुस्तौंदेखि चंगाको व्यापार गर्दै आएका व्यापारीहरुकाअनुसार पहिले–पहिले दसैं आउन दुई/तीन महिनाअघिदेखि नै चंगा बेच्न भ्याइ–नभ्याइ हुने गर्दन्थ्यो । तर, अहिले ती कुरा इतिहास बनेको उनीहरुको भनाइ छ ।
त्यसो त चंगा उडाउनेहरुको संख्या घटेपछि चंगाको व्यापार पनि चौपट भइसकेको छ । चंगा उडाउन चाहनेहरुले पनि खोजेको बेला चंगा पाउन नसक्ने अवस्था छ ।
यस्तो हुनुको कारण मोबाइलमा उपलब्ध नानाथरिका गेम र सामाजिक सन्जालहरुको लत भएकोमा शंका छैन ।
यस्तै, दसैंको अवसरको मनोरञ्जनको अर्को साधन पिङ पनि लगभग लोप हुने अवस्थामा पुगेको छ । पहिले–पहिले दसैं र पिङलाई नङ–मासुजस्तो मानिन्थ्यो ।
उपत्यकाका टोलटोल र चोकचोकमा थरिथरिका पिङ हुने गर्दथे । रोटे र जाँतेपिङ त विरलै देख्न पाइन्छ भने लिंगेपिङ पनि फाट्टफुट्टमात्रै देखिन्छ ।
समयअनुसार आउने प्रविधि र सुविधालाई मान्छेले प्रयोग गर्दै जानु स्वाभाविक हो । तर, त्यस्ता प्रविधिको दास बनेर आफ्ना परम्परागत पहिचान बोकेका मनोरन्जनका माध्यमहरुलाई चटक्कै छाड्नुचाहिँ संस्कृतिप्रतिको घात हुनेमा शंका छैन ।





प्रतिक्रिया दिनुहोस्