
राजु चौधरी (इमेज)
चितवन, असोज २३ । कोही मान्छे तपाइँकहाँ सहयोग माग्न आयो वा गाउँघरमा साँझको समयमा बास माग्न आयो भने सचेत हुनुहोस् !
अहिले विभिन्न बहानामा घरमा पसेर परिवारका सदस्यहरुलाई बेहोस बनाइ लुटपाट गर्ने गिरोह सक्रिय भएको छ ।
यही असोज १२ गते चितवनको माडी नगरपालिका–६, कल्याणपुरका भीमबहादुर सुनारको घरमा बास माग्दै पुगेका दुईजनाले परिवारका सबै सदस्यहरुलाई बेहोस बनाएर ठूलै लुटपाट गरेका छन् ।
हेर्दै सीधासादा भन्दै बास दिइएका व्यक्तिहरुले भीमबहादुरकी आमा मायाकुमारी र उनकी श्रीमती अनिशालाई बेहोस हुने औषधि मिसाएको आँपको जुस खुवाएर १५ तोला सुनका गहना, दुईथान मोबाइल सेटलगायत लुटेर फरार भए ।
लुटेरामध्येका एकजना मकवानपुरको थाहा नगरपालिका घर भएका ४९ वर्षीय हरि गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।
माडीमा बास माग्दै गएर लुट्ने महिलालाई भने प्रहरीले अझै फेलापार्न सकेको छैन ।
त्यस्तै, लुटपाटमा सक्रिय कास्की, माछापुच्छ्रे्का ‘गोपाल’ भनिने कालु परियार पनि पक्राउ परेका छन् ।
गोलेलाई गत शुक्रबार बिहान चितवनको आँपटारीबाट र कालुलाई लुटपाटका लागि प्रयोग गरिने औषधि, इन्जेक्सन, टर्च, जुससहितको बोतलसहित शुक्रबार बेलुका बुटवल बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लुटेराहरु पक्राउ परे पनि भीमबहादुरकी आमाको अझै राम्रोसँग होस आउन सकेको छैन । उनकी श्रीमती भने पाँच दिनको उपचारपछि निको भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्