बेइजिङ, असोज २२ । गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनियाँ अधिकारीहरुले सोमबार घोषणा गरेका छन् ।
चिनियाँ कानुनको उल्लंघनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीकोसमेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको छ ।
फ्रान्सेली अधिकारीहरुले गत शुक्रबारमात्र मेङ चीनमा ‘बेपत्ता’ भएको समाचार सार्वजनिक गरेका थिए ।
अन्तर्राष्ट्रिय संगठित अपराधीहरुको खोजतलास, विश्लेषण र विश्वका देशहरुका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा रहेको छ । मेङ त्यही इन्टरपोलका अध्यक्ष हुन् ।
विश्लेषकहरुले अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण पदहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिमाथि चीनको पछिल्लो कदमले व्यापक नैराश्यता छाउने र विश्वसनीयतामा कमी आउने बताएका छन् ।
मेङकी पत्नी ग्रेस होङवेईले फ्रान्सको लियोनस्थित इन्टरपोलको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लोपटक मेङले पठाएको सन्देशबाट आफू अत्यन्त चिन्तित भएको बताइन् ।
चीनको सार्वजनिक सेवामा कार्यरत् व्यक्तिमाथि लाग्ने भ्रष्टाचार मुद्दाको छानबिन गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले अन्तर्राष्ट्रिय दबाबपश्चात् एक वक्तव्य जारी गर्दैै भनेको छ–‘मेङमाथि कानुन उल्लंघनको आरोपमा अनुसन्धान भइरहेको छ ।’
त्यसलगत्तै इन्टरपोलले मेङले ‘तत्काल लागू हुनेगरी’ दिएको राजीनामा प्राप्त भएको जनाएको छ ।
चीनमा उच्चपदस्थ व्यक्ति बेपत्ता भएको यो पछिल्लो घटना हो ।
चीनमा उच्च सरकारी अधिकारीहरु, अर्बपति व्यापारीहरु र लोकप्रिय व्यक्तिहरु पनि हप्तौं वा महिनौं बेपत्ता बनाइन्छन् । उनीहरु पुनः देखा पर्दा प्रायः अदालतमा उपस्थित गराइएको हुन्छ ।
इन्टरपोलमा पहिलो चिनियाँ अध्यक्ष रहेका मेङ होङवेई सेप्टेम्बर २५ मा चीन जानुअघि फ्रान्सको लियोनमा सार्वजनिक कार्यक्रममा देखापरेका थिए ।
इन्टरपोलका दैनिक कार्यसन्चालनको रेखदेख गर्ने महासचिव जुर्गेन स्टोकले चीनसँग मेङको अवस्थाकाबारेमा जानकारी गराउन इन्टरपोलले औपचारिक आग्रह गरेको बताएका थिए ।
मानवअधिकार समूहहरुको चौतर्फी विरोधबीच मेङ इन्टरपोलको अध्यक्षमा सन् २०१६ मा नियुक्त भएका थिए ।
विश्व मामिलामा चीनको प्रभाव बढाउनेक्रममा चीनका राष्ट्रपतिको यो एउटा महत्वपूर्ण विजयकारुपमा हेरिएको थियो । तर, मेङको बेपत्ता प्रकरणले चीनलाई ठूलै क्षति हुन सक्नेछ ।
दुबईमा आगामी नोभेम्बर १८ देखि २१ मा हुने इन्टरपोलको महासभाले अध्यक्षको बाँकी दुई वर्षे पदावधिका लागि नयाँ अध्यक्ष निर्वाचित गर्नेछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले मेङलाई सन् २००४ मा आफ्नो पार्टीभित्रका विपक्षीलाई पाखा लगाउँदै उपसुरक्षा मन्त्री बनाएका थिए । मेङलाई अरु पनि संवेदनशील कार्यहरुको जिम्मेवारी दिइएको थियो ।
राष्ट्रपतिका विश्वासपात्र मेङले प्रतिआतंकवादी विभागको पनि जिम्मेवारी पाएका थिए ।
मेङलाई इन्टरपोलको अध्यक्ष बनाउन सकिए चीनबाट पलायन भएर विदेशमा आश्रय लिइबसेका व्यक्तिहरु चीन लैजान मद्दत पुग्ने भित्री मनसाय चीनको रहेको भन्दै आलोचनासमेत भएको थियो ।
इन्टरपोलले त्यस्तो आरोपलाई अस्वीकार गर्दै आएको छ । अध्यक्षले संस्थाको दैनिक कारबाहीमा कुनै प्रभाव नपार्ने इन्टरपोलले स्पस्ट गरेको छ ।
चीनले विदेशमा लुकेर बसेका भ्रष्ट अधिकारीहरुलाई पक्राउ गर्न ‘अपरेसन फक्स हन्ट’समेत सन्चालन गर्दै आएको छ । ती व्यक्तिलाई पक्राउ गर्न चिनियाँ अधिकारीहरुले गोप्यरुपमा कार्य गरिरहेको बताइन्छ ।
चीनले हाल ४४ जना त्यस्तै व्यक्तिलाई पक्राउ गर्न ‘रेड नोटिस’ जारी गरेको छ । उनीहरुमाथि हत्या, लागुऔषधको तस्करीलगायतका आरोप लागेका छन् ।
मेङको कार्यकालमा इन्टरपोलले विदेशमा लुकेर बसेका चिनियाँ अर्बपति गुओ वेनगुईमाथि रेड नोटिस जारी गरेको छ । गुओले चीनका उच्चपदस्थ व्यक्तिले गरेका भ्रष्टाचारको पोल खोल्ने चेतावनी दिँदै आएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्