२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


जिल्ला प्रहरी प्रमुखसहित ६ प्रहरीको हत्या


0
Shares

अफगानिस्तान, असोज २१ । तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । 

स्थानीय अधिकारीका अनुसार अफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकूहरुले रातभरी भीषण आक्रमण गरेका थिए । 

तालिवान लडाकूहरुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण गरेको जनाइएको छ । ‘जिल्ला प्रहरी प्रमुख साइद मेजराबशाह हाशेमीसहित ६ जना प्रहरी अधिकारी मारिएका छन्,’ प्रान्तीय सरकारका प्रवक्ता अब्दुर रहमान मन्गलले बताए ।

उनले तालिवान लडाकूतर्फका पनि धेरै जना मारिएको र केही घाइते भएको दावी गरे ।

यसैबीच, राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिमतर्फ रहेको यस जिल्लालाई विद्रोहीले कब्जामा लिएको प्रान्तीय परिषदका एकजना अधिकारी हुसेन अलि बालिगले बताए ।

बालिगका अनुसार लडाकूहरुको आक्रमणका कारण काबुलदेखि कान्दाहारसम्मको राजमार्ग समेत अवरुद्ध भएको छ । 

निर्वाचनको मिति नजिकिदै गर्दा अफगानिस्तानमा हिंसात्मक घटनाहरु थप बढ्दै गएका छन् । 

अफगानिस्तान यही अक्टोबर २० तारिखका दिन संसद र स्थानीय तहको निर्वाचन हुन लागेको छ । अफगानिस्तानमा करिब ९० लाख मतदाता रहेका छन् । (रासस/सिन्ह्वा)