काठमाडौं, असोज २० । २०औं संस्करणको टुबोर्ग इमेज अवार्ड शनिबार भव्यतापूर्वक सम्पन्न भएको छ ।
नेपाली गीत–संगीतको क्षेत्रमा उत्कृष्ट स्रस्टाहरुलाई सम्मान गरिने सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो उत्सवले दुई दशक पार गरेको छ ।
काठमाडौंको होटल सोल्टीमा आयोजित भव्य समारोहकाबीच ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई प्रदान गरियो ।
त्यसैगरी, ऊर्जाको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपालाई लोडसेडिङबाट मुक्त गराउन अहं भूमिका खेलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ प्रदान गरियो ।
कार्यक्रममा २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकहरुमध्येबाट १८ओटा विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरियो ।
उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘यो ऐना भनाउँदो…’ गीतका रचनाकार आनन्द अधिकारीलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट समूह वा युगलगायन अवार्ड ‘हावा घरैमा…’ भन्ने गीतका लागि पूजन लोहागन र अनुपमा प्रधानलाई प्रदान गरियो ।
त्यसैगरी, रेडबुल सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘छामी हेरन’ बोलको गीतका गायक सुवासचन्द्र जोशी र सर्वोत्कृष्ट संगीततर्फ ‘जाउँला रेलैमा…’ गीतका संगीतकार कमल खत्रीले अवार्ड प्राप्त गर्न सफल भए ।
सर्वोत्कृष्ट गीतको अवार्ड कमल खत्रीको ‘जाउँला रेलैमा…’ले पाउन सफल भयो ।
‘नौलाई सून्य नब्बे’ गीतका रुपकुमार राई र मेनुका राई सर्वोत्कृष्ट गायन दोहोरी गीततर्फको अवार्ड पाउन सफल भए ।
सर्वोत्कृष्ट गायन लोकगीततर्फ ‘दुई रुपैयाँको बिँडी’ गीतकी गायिका सीता थापालाई अवार्ड दिइयो ।
सर्वोत्कृष्ट लोकगीत संकलकको अवार्ड ‘बोल माया’ गीतका संकलक प्रकाश सपुतलाई प्रदान गरियो ।
त्यसैगरी, सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘छिनछिन बज्ने चुरा’लाई प्रदान गरियो ।
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारतर्फ ‘तिमीलाई छुँदै’ गीतका बुद्ध थापा र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकमा सोही गीतका विकास धमलाले अवार्ड पाउन सफल भए ।
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘डोन्ट किलमी’का निशान घिमिरे घोषित भए ।
यस्तै, सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा दीपक बज्राचार्यको ‘मन मगन’ले अवार्ड पायो ।
सर्वोत्कृष्ट गायन पुरुषतर्फको अवार्ड ‘जाउ तिमी…’ गीतका कर्मा ग्याल्जेन बोमजन र सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड ‘वन फूल’ गीतकी गायिका दुर्गा परियारलाई प्रदान गरियो ।
त्यसैगरी, सर्वोत्कृष्ट पप गायन महिलातर्फको अवार्ड ‘मनचरी’ गीतकी गायिका श्रेया सोताङ र सर्वोत्कृष्ट पप गायन पुरुषतर्फको अवार्ड दीपक बज्राचार्यको पोल्टामा पर्यो ।
टुबोर्ग पब्लिक च्वाइस अवार्ड गायिका टीका प्रसाइँको गीत ‘माया लुकी लुकी’ले प्राप्त गर्न सफल भयो ।
कार्यक्रममा इमेज च्यानललाई सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराउने थम्पसन नेपाल, एड रिलिज र इको एडभर्टटाइजिङ एजेन्सीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आरके मानन्धरले दर्शक, स्रोता र विशिष्ट व्यक्तित्वको सहयोग र विश्वासका कारण आफूहरु सफल भएको बताए ।
इमेज ग्रुपले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट सत्यतथ्य र विश्वसनीय समाचार प्रसारण/प्रकाशन गर्दै पत्रकारिताको धर्म निर्वाह गरेको उनको भनाइ थियो ।
अध्यक्ष मानन्धरले कलाकारिता र संगीत क्षेत्रको विशेष सम्मान, संरक्षण गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष इमेज अवार्ड आयोजना गर्दै आइरहेको बताए ।
लोगो परिवर्तन
यसैबीच, इमेज च्यानलले आफ्नो लोगो परिवर्तन गरेको छ ।
कार्यक्रममा इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आरके मानन्धरले नयाँ लोगो सार्वजनिक गरेका थिए ।
कार्यक्रममा कुटुम्ब, १९७४ एडी, कार्टुन क्रयूज, प्रियंका कार्कीलगायत अन्य कलाकार एवम व्याण्डले प्रस्तुती दिएका थिए ।
कार्यक्रमको इमेज च्यानल, इमेज एफएम ९७.९, इमेज न्यूज एफएम १०३.६ र इमेज च्यानलको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्