२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


मुलुकमा भएको महत्वपूर्ण परिवर्तनलाई अझै संस्थागत गर्न सकिएनः पूर्वराष्ट्रपति डा. यादव


0
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई अझै संस्थागत गर्न नसकिएको बताएका छन् ।

पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेलको आत्मकथाको आज काठमाडौमा लोकार्पण गर्दै उनले आफूले राणा शासन, पञ्चायतदेखि अहिलेसम्मको सबै आरोह–अवरोहको अनुभव गरेको तर, पछिल्लो समयमा भएको महत्वपूर्ण परिर्वतनलाई संस्थागत गर्न नसकिएको बताए ।

प्रजातन्त्र पुनस्र्थापनापछि मुलुकमा भएका घटनाक्रम महत्वपूर्ण भएको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा. यादवले पूर्व प्रहरी प्रमुख खरेललेद्वारा लिखित आत्मकथा इतिहासको ऐना भएको टिप्पणी गरे ।

उनले खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनस्र्थापनापछिका महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नियाल्न सहयोग पुग्ने बताए ।

आत्मकथाका लेखक खरेलले पुस्तक आफ्नो जीवनको आरोह–अवरोह र प्रहरी संगठनको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखिझ्याल भएको बताए ।

उनले आफ्नो आत्मकथाले प्रहरी प्रमुखको चौबीस घण्टे रापिलो यात्रा सँगसँगै त्यो बेलाको नेपाली खेलकुदको अवस्थाको चित्रणसमेत गरेको उल्लेख गरे ।

पुस्तकमा प्रहरी सेवाको खरेलको कार्यकालमा भएका महत्वपूर्ण घटनाक्रम, त्यसबेलाका पात्र, प्रवृत्ति, प्रशासनिक मर्यादा र संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरण उल्लेख गरिएको छ । पुस्तक नेपालयले पब्लिकेशनले प्रकाशन गरेको हो ।