ओस्लो, असोज १९ । द्वन्द्वको परिस्थितिमा यौनहिंसाविरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कंगोका डा. डेनिस मुकवेगे र ‘याजिदी’ अभियन्ता नदिया मुरादलाई संयुक्तरुपमा सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
नर्वेको ओस्लोमा नोबेल समितिका अध्यक्ष बेरिट रेइस–एन्डरसनले उक्त पुरस्कारको घोषणा गरेकी हुन् ।
बेरिटले भनेकी छन्–‘दुवै व्यक्तित्वले युद्ध र सशस्त्र द्वन्द्वमा यौनहिंसालाई हतियारकारुपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्यका लागि प्रयत्न गरेकाले यस वर्ष नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।’
उनले युद्धको समयमा महिला र उनीहरुका आधारभूत अधिकार तथा सुरक्षालाई सम्मानित र संरक्षित गर्न सकिएमात्र शान्तिपूर्ण विश्व निर्माण गर्नसकिने बताइन् ।
पुरस्कृत व्यक्तित्वमध्ये एकजना चिकित्सक र अर्को बलात्कारपीडित युवती हुन् ।
दुवैले विश्वकै यौनहिंसाजस्तो अभिसापकाविरुद्ध संघर्ष गरेका छन् र यसमा धेरैले योगदान गरेपनि यो पुरस्कारले त्यसैको प्रतीकात्मक प्रतिनिधित्व गर्दछ ।
यो पुरस्कारको घोषणा विश्वभर तरंग ल्याइरहेको ‘मीटु’ नामको अभियानको पहिलो वार्षिक समारोहका अवसरमा गरिएको छ ।
पुरस्कृत व्यक्तित्व ६३ वर्षीय मुकवेगेले दुई दशकदेखि युद्धले क्षतविक्षत प्रजातान्त्रिक गणतन्त्र कंगोमा यौनहिंसा र बलात्कारजस्ता अमानवीय कार्यबाट पीडित महिलाको उपचार र समाजमा पुनस्र्थापित गराउन लगातार कार्य गरिरहेका छन् ।
कंगोको दक्षिण किभुमा सन् १९९९ मा पान्जी अस्पताल स्थापना गरी उनले बलात्कार र यौनशोषणमा परेका दशौं हजार पीडित महिलाको उपचार गरेका छन् ।
‘डक्टर मिराकल’ अर्थात् ‘चमत्कारिक चिकित्सक’को उपनामले पनि चिनिएका डा. मुकवेगे युद्धमा महिलाको शोषणविरुद्ध आवाज उठाउने प्रखर व्यक्तित्व हुन् ।
उनले बलात्कारलाई ‘आम विनाशकारी हतियार’कारुपमासमेत व्याख्या गर्ने गरेका छन् ।
अर्कोतर्फ इराककी २५ वर्षीया मुराद भने याजिदी समुदायकी बलात्कारपीडित हुन् । उनलाई ‘इस्लामिक स्टेट’का लडाकूले सन् २०१४ मा अपहरण गरी बलात्कार गरेका थिए ।
लडाकूको पञ्जाबाट फुत्किनुअघि उनलाई तीन महिनासम्म यौनदासी बनाइएको थियो ।
कुर्द–भाषी अल्पसंख्यक याजिदी समुदायका हजारौं महिला र बालिकालाई लडाकूहरुले अपहरण गरी बलात्कार र चरम सजाय दिएका थिए । राष्ट्रसंघले यो घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।
सन् २०१४ अगस्टमा उत्तरी इराकबाट अपहरित मुरादलाई लडाकूहरुले इराककै मोसुल सहर लगेका थिए । त्यहाँ उनीमाथि सामूहिक बलात्कार, यातना र कुटपिट गरिएको थियो ।
लडाकूहरुले इसाइ धर्म मान्दै आएकी मुरादलाई जबर्जस्ती इस्लामिक धर्म अनुशरण गर्न लगाएका थिए ।
याजिदी समुदायको सुरक्षाका सन्दर्भमा विश्वभर चिनिएकी मुरादलाई मानव बेचविखनपीडितका लागि राष्ट्रसंघीय राजदूतकारुपमासमेत नियुक्त गरिएको थियो ।
मुकवेगे र मुरादले स्वर्णपदकसहित संयुक्तरुपमा १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त पुरस्कार डिसेम्बर १० मा ओस्लोमा एक समारोहबीच प्रदान गरिनेछ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्