प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, असोज १५ । अक्टोबर महिना । विश्वभर यो महिनालाई स्तन क्यान्सरविरुद्ध जनचेतना बढाउने महिनाकारुपमा मनाउने गरिएको छ ।
नेपालमा पनि यस सम्बन्धमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ । खानपिन, जीवनशैली, मद्यपान, धूमपान, हर्मोनमा आउने परिवर्तन र स्तनपान नगराउने महिलामा स्तन क्यान्सरको जोखिम उच्च रहने चिकित्सकहरु बताउँछन् ।
नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या निकै बढेको विभिन्न अस्पतालहरुको तथ्यांकले देखाएको छ । तर, कति महिला यस रोगबाट प्रभावित छन् ? भन्ने सरकारी तथ्यांक भने छैन ।
यस्तै, १५ प्रतिशत वशांणुगत कारणले पनि लाग्ने सम्भावना रहने क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति बताउँछन् ।
२० वर्षको उमेरदेखि नै स्तन क्यान्सर हुने सम्भावना रहने चिकित्सकहरु बताउँछन् । उमेर बढ्दै जाँदा यो समस्या बढ्ने सम्भावना उच्च रहन्छ ।
स्तनमा क्यान्सर सुरु भएको ९ महिनादेखि एक वर्षभित्र नै चौथो चरणमा प्रवेश गर्ने खतरा रहन्छ ।
स्तनको आकारमा परिवर्तन आउने, गिर्खा आउनेजस्ता लक्षण देखापर्नेबित्तिकै चिकित्सकको परामर्श लिने हो भने पनि पूर्णरुपमा निको हुने डा. प्रजापतिले बताए ।
तेस्रो चरणसम्मको स्तन क्यान्सर पूर्णरुपमा निको हुने चिकित्सकहरु बताउँछन् ।
चौथो चरणमा क्यान्सर स्तनमामात्र नभइ शरीरका अन्य स्थानमासमेत फैलने हुँदा बिरामीलाई पूर्णरुपमा सन्चो गराउन कठिन हुने उनको भनाइ छ ।
स्तन क्यान्सरलाई जिती सहजरुपमा जीवनयापन गरिरहेकी वरिष्ठ गायिका तारा थापाले स्तनमा गिर्खा आएको एक महिनासम्म पनि बेवास्ता गरी अस्पताल जाँदा दोस्रो चरणमा पुगिसकेको थाहा पाएको बताइन् ।
एक महिनासम्म पनि यो सामान्य नै होला भन्दै चिकित्सककहाँ नजाँदा क्यान्सर दोस्रो चरण नै पुगिसकेको अनुभव सुनाउँदै गायिका थापाले आफ्नो शरीरको ख्याल आफैं राख्ने र महिला आफैं सचेत हुने हो भने स्तन क्यान्सर लाग्नबाट बच्चसकिने सुझाव दिइन् ।
प्रतिक्रिया दिनुहोस्