काठमाडौं, असोज १४ । चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापार घाटा १ खर्ब नाघेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउन महिनामै कुल वस्तु व्यापार घाटा ५९.१ प्रतिशतले विस्तार भई ११३ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो । यस अवधिमा कुल वस्तु निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.२ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले ह्रास आएको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यात ९.६ प्रतिशतले बढे पनि चीनतर्फकोे ४४.८ प्रतिशत र अन्य मुलुकतर्फको २.३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ५४.३ प्रतिशतले बढेर १२० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.५ प्रतिशतले बढेको थियो ।
यस अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ७३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३३.५ प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ ।
साउन महिनामा मूल्य बृद्धि ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २.३ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा वृद्धि भएको कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्