Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


कैलाश मानसरोवर गएका मुगुका तीन जना रसुवा बाढीमा बेपत्ता, खोजी तीव्र पार्न परिवारकाे अपिल


234
Shares

काठमाडौं । कैलाश मानसरोवर यात्रामा गएका मुगुका तीन जना आफन्त १० दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पार्न आग्रह गरेको छ ।

बेपत्ता हुनेमा ७८ वर्षीया साङ्मो लामा, ५७ वर्षीय ज्यामपल लामा र ५३ वर्षीया कर्मा छोजोम लामा रहेका छन्।

परिवारका अनुसार तीर्थयात्रामा रहेका बेला घरमा ठुलोबुबाको निधन भएपछि आकस्मिक रूपमा घर फर्कने तयारी गरिएको थियो । फर्किनका लागि हेलिकप्टरको प्रतीक्षामा रहेका उनीहरू भदौ १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

परिवारले भदौ १० गते बिहान ८ बजेर ४८ मिनेटसम्म रसुवाको घट्टेखोला–सोनाम गेस्ट हाउस अगाडि उनीहरू सकुशल रहेको जानकारी प्राप्त भएको जनाएको छ । त्यसपछि उनीहरूको अवस्था अज्ञात रहेको परिवारको भनाइ छ ।
उनीहरू जीवित वा मृत रहेको समेत यकिन हुन नसकेको परिवारले जनाएको छ । परिवारले नेपाल प्रहरी, स्थानीय प्रशासन, उद्धार टोली तथा सम्बन्धित निकायलाई सम्भावित क्षेत्रमा तत्काल खोजी तथा उद्धार अभियान सञ्चालन गरी बेपत्ता तीनै जनाको अवस्था पत्ता लगाइदिन आग्रह गरेको छ ।