२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


दुःखी कर्म : ऋण लागेर विदेश जाँदा रोग बोकेर फर्किएका युवालाई फेरि ऋणकै भारी (भिडियो)


0
Shares

काठमाडौं, असोज १४ । सामान्य रोगमा त नेपालीहरुले जेनतेन उपचार खर्च जुटाउँछन् तर रोग जटिल बन्यो र धेरै खर्च गर्नुपर्ने भयो भने धेरै नेपालीहरुको उठिबास लाग्छ । यस्तै एक प्रतिनिधि पात्र हुन् धादिङ घर भएका प्रह्लाद अर्याल ।

कमजोर आर्थिक अवस्थाका उनी लगातार दुई बर्षदेखि उपचार गर्न अस्पताल धाइरहेका छन्, जसको सम्पत्ति उपचारमै सकिँदैछ ।

धादिङ जिल्ला घर भएका ३५ ष्र्षीय प्रह्लाद अर्याल कुखुरा पालन व्यवसाय गर्दै आफनो गुजारा चलाइरहेका थिए । ठूलो लगानीमा कुखुरा पालन गरेका उनको व्यवसाय डुब्यो र ७ लाख रुपैयाँ ऋण लाग्यो ।

दुई छोरा, एक छोरीका बाबु प्रह्लादलाई अब घर व्यवहार कसरी चलाउने भन्ने ठूलो चिन्ता थपियो । उनी धन कमाउन विदेश जाने निधो गरे । अनि हानिए– साउदी अरव ।

साउदी गएको दुई महिनामै उनी बिरामी भए अनि नेपाल फर्किए । घर आएको चार महिनापछि प्रह्लादको स्वास्थ्यमा राम्रो सुधार देखिएको थियो । तर एक्कासी स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि अस्पताल जाँदा चिकित्सकले पायल्स भएको भन्दै एक हप्ताको औषधी दिए ।

औषधीले प्रह्लादको स्वास्थ्य निको बनाउनु त परै जाओस्, झन् समस्या थपियो । उनी काठमाडौं आए । फोक्सो र मुटुमा समेत इन्फेक्सन भइसकेको चिकित्सकले बताए । प्रह्लाद दुई बर्षदेखि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहेका छन् ।

७ लाख ऋण लागेर विदेश हानिएका प्रह्लाद विरामी भएपछि ऋणको बोझ झनै थपिएको छ । प्रह्लादकी श्रीमती गीता अर्याल जेनतेन ऋण काढेर श्रीमानको उपचार गरिरहेको बताउँछिन् ।

काम गरेर परिवार पाल्ने आफु नै विरामी भएपछि अब छोराछोरीलाई कसरी पढाउने भनेर प्रह्लादलाई चिन्ता थपिएको छ ।

पैसा कमाएर ऋण तिर्ने, छोराछोरी पढाएर ठूलो मान्छे बनाउने सपना बोकेका प्रह्लादको ८ पटकसम्म शल्यक्रिया गर्नुपर्दा स्वास्थ्य पनि राम्रो छैन । स्वास्थ्यमा सुधार नभएपछि उनको परिवारमा चिन्ता थपिएको छ ।

भिडियो हेर्नुहोस्