
काठमाडौं, असार ७ । नेपाल र चीनबीच चिनियाँ रेल केरूङ हुँदै काठमाडौं ल्याउने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच आज पेइचिङमा भएको वार्ताका क्रममा भएको दुई पक्षीय सहयोग सम्बन्धि १० बुँदे सम्झौतामा विद्युतीय कार्गो रेल काठमाडौं पुर्याउने उल्लेख गरिएको हो ।
वार्तापछि कार्गो रेल लाइन निर्माणका लागि डीपीआर बनाउने सम्बन्धि समझदारी पत्रमा नेपालको तर्पmबाट भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ र चिनियाँ समकक्षी ली सियोपिङले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार आगामी दुई महिनाभित्रै पूर्व सम्भाब्यता अध्ययन पूरा गर्ने, डेढ वर्षभित्र डीपीआर तयार पारेर निर्माण कार्य शुरु गर्ने र निर्माण शुरु गरेको ५ वर्षभित्र काम सम्पन्न गरिने छ ।
चीनले स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट अघि बढाएको रेल लाइन केही वर्षभित्र केरुङ आइपूग्दै छ । सोही रेल लाइन काठमाडौं ल्याउने सहमति दुई देशबीच भएको हो ।
यसअघि हिजो चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताउनु भएको थियो ।
नेपाल र चीनबीच विभिन्न ठाउँमा सुख्खा बन्दरगाह बनाउने, विद्युत लाइन विस्तार गर्ने, नेपालका उत्तरी वस्तीहरुमा ढुवानीका लागि तिब्बती राजमार्ग प्रयोग गर्ने, नुवाकोट दरबारको पुननिर्माणलगायतका विषयमा सम्झौता भएको छ ।
दुई देशबीच ४ वटा विषयमा लेटर अप्m एक्स्चेञ्ज समेत भएको जनाइएको छ ।
तातोपानी र केरूङमा पक्की पुल बनाउने र मानव स्रोत तथा थिंक ट्यांकहरुको आदानप्रदान गर्ने विषयमा पनि दुई देशबीच सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्