Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


व्यवसायीहरुको चर्को दवावपछि रसुवागढी नाका खुलाउने सरकारको तयारी


0
Shares

काठमाडौं । सरकारले रसुवागढी नाका खुलाउने गरी आवश्यक गृहकार्य सुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको नाका सञ्चालनमा ल्याउन लागिएको हो ।

सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो ।

तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने भन्दै स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको हो ।

चीनले नाका खोल्न सहमति दिएकाले केही दिनमा नै नाका सञ्चालनमा आउने रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालन नआउँदा तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।

नाका सञ्चालन गर्नेबारे दुवै देशका सीमा प्रशासनले निर्णय गर्नेछन् । नाका बन्द भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले चार पटक सामग्री आयात गर्ने बाहेक नाकामा अन्य गतिविधि ठप्प छ ।

लामो समयदेखि नाका सञ्चालनमा आउन नसक्दा केरुङमा रहेका सामग्री बिग्रने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेम लगायतका सामग्री आयात हुने गरेको छ ।

त्यस्तै बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।