काठमाडाैं । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
खेलसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकाको सिङ्जेमा ताल, साम्दो पोखरी, दिकीछ्योखोर्लिङ गुम्बा तथा मिक्वाखोलाको पापुङमा रहेको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो । आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले यहि भदौ १२ गते ताप्लेजुङ–११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच उद्घाटन खेल हुने बताएका छन् । त्यस्तै, भदौ १३ गते चित्लाङ फुटबल क्लब (मकवानपुर) र फिदिम स्पोर्टिङ क्लब (पाँचथर) बीच खेल हुने भएकाे हाे।
भदौ १४ गते सातदोबाटो फुटबल क्लब (ललितपुर) र सलहेश युवा क्लब (सिरहा), भदौ १५ गते झापा–११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सलहेश युवा क्लब गएको वर्षको विजेता टोली हो । प्रतियोगिताका सेमिफाइनल खेल भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ७ लाख ५२ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् ।
लाखेजात्रा पर्वको अवसरमा २०२९ देखि कञ्चनजङ्घा र पाथीभरा लगायत विभिन्न नाममा यो प्रतियोगिता सञ्चालन हुँदै आएको हाे । ताप्लेजुङ गोल्डकप पूर्वी पहाडी क्षेत्रको बहुप्रतिक्षित फुटबल प्रतियोगिताका रूपमा स्थापित छ । प्रतियोगिता हेर्न झापा, इलाम, पाँचथर र तेह्रथुम लगायत जिल्लाबाट दर्शक आउने समितिका अध्यक्ष मादेनले बताएका हुन् ।
यस वर्ष प्रतियोगितामा क्वाटरफाइनलका लागि २ सय, सेमिफाइनलका लागि ३ सय, र फाइनलका लागि ५ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । प्रतियोगिता फुङलिङको भानुजन मावि खेल मैदानमा सञ्चालन हुने भएकाे हाे।









प्रतिक्रिया दिनुहोस्