Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


काँग्रेसको १५ औँ महाधिवेशन : असोज १६–१९ को मिति यथावत, तल्लो तहको कार्यतालिकामा केही हेरफेर हुनसक्ने


741
Shares

काठमाडाैं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि प्रश्तावित पूर्वनिर्धारित मितिलाई कायम राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा केही परिमार्जन गर्ने विषयमा छलफल शुरु भएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सो जानकारी दिनुभएको हो । महामन्त्री पौडेलकाअनुसार आगामी असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको केन्द्रिय महाधिवेशनको मिति परिवर्तन नहुने गरी त्यसभन्दा तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्नेबारे बैठकमा छलफल भइरहेको छ।

बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको विषयले पनि प्राथमिकता पाएको छ । यसअघि ७७ वटै जिल्लामा खटाइएका केन्द्रिय प्रतिनिधिहरूले सदस्यता अद्यावधिक र वितरणका क्रममा देखिएका वस्तुगत स्थिति तथा समस्याहरूबारे आफ्नो धारणा र सुझाव राखिरहनुभएको छ ।
महामन्त्री पौडेलले भन्नुभयो, ‘सदस्यता वितरण र अद्यावधिकको मुख्य कार्य सम्पन्न भइसकेको छ । अहिले सदस्यता सूचीमा सच्याउनुपर्ने प्राविधिक पक्ष, समावेश गर्न छुटेका विवरण र अन्य सांगठनिक विषयमा बैठक केन्द्रित छ ।’

बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका अतिरिक्त कार्यसूचीमा समावेश गरिएका अन्य समसामयिक विषयमा पनि केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

Skip This