Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


राखेपको १२५औं बोर्ड बैठक ८ महिनापछि आज बस्दै

बैठकमा छलफलका लागि ९ एजेण्डा ताेकियाे

0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठक बिहीबार बस्दैछ ।

बैठक शिक्षा तथा खेलकदु मन्त्रालयमा बिहीबार दिउँसो १ बजेदेखि शुरु हुने भएकाे हाे । करिब आठ महिनापछि राखेपकाे बोर्ड बैठक बस्न लागेको छ । पछिल्लो पटक तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा गत पुस ९ गते राखेपको बोर्ड बैठक बसेको थियो ।

राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आह्वान गरेको बैठकमा ९ एजेन्डा तोकिएका छन् । डेढ महिनापछि हुन लागेको २० औं एशियाली खेलकुद र १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता मुख्य प्राथमिकतामा रहेकाे हाे । पहिलो एजेन्डा एसियाली खेलकुदको सहभागिता सम्बन्धी छ ।

एसियाडमा समावेश हुने खेल र सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलहरूको अनुमोदन पहिलो विषय रहेकाे हाे । राखेपले एसियाडमा २२ खेलका १३६ खेलाडी र ३२ प्रशिक्षकलाई सहभागी गराउने निर्णय गरिसकेको छ ।

शुरुमा २९ खेलमा पठाउने गृहकार्य भएकोमा पछि १६ हुँदै २३ खेल सहभागिता गराउने निष्कर्षमा राखेप पुगेको थियो । पछि इस्पोर्ट्सलाई हटाउँदै २२ खेलको निश्चितता भएको राखेपले जनाइसकेको छ । एसियाडको निम्ति प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८३, २०औं एशियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धी बजेट तथा नम्स पनि बैठकमा पेश हुने भएकाे छ ।

दोस्रो एजेन्डा १० औं राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी छ । कर्णालीमा हुने तय भएको राष्ट्रिय खेलकुद पटक-पटक सर्दै दुई वर्ष ढिला भइसकेको छ । अब आगामी मंसिर महिनामा राष्ट्रिय खेलकुद हुने बताइएको छ । बैठकमा दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल, आयोजनाको मिति, प्रतियोगिता सञ्चालन सम्बन्धी निर्देशिका, आयोजनासम्बन्धी बजेट तथा नम्सको विषयमा छलफल र निर्णय हुने भएकाे हाे।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्‌को चालु आव २०८३/८४ को विनियोजित बजेट र परिषद्‌को आन्तरिक तर्फको अनुमानित आय-व्यय सम्बन्धमा पनि निर्णय लिइनेछ । राखेपलाई अत्यावश्यक प्राविधिक कर्मचारीहरू करार सेवामा लिने बारेमा पनि छलफल हुने भएकाे हाे । स्थायी कर्मचारीहरू अवकास भएका तर त्यसको पूर्ति नहुँदा कर्मचारीको अभाव हुँदै आएको छ ।

साथै, पूर्वाधार निर्माणतर्फ सिभिल इन्जिनियर उपसचिवसरह एक जना र सिभिलर आर्किटेक्टर इलेक्ट्रिकलर स्ट्रकचरल चार जना थप गर्ने विषयमा निर्णय हुने भएकाे हाे । आईटी सूचना प्रविधितर्फ आईटीविज्ञ दुईजना अधिकृत तृतीय राखिने एजेन्डामा समावेश छ ।

त्यसैगरी, राखेपलाई आवश्यक कानुनी सल्लाहकारको सेवा करारमा लिने, खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन र खेल संघहरूलाई खेल कार्यक्रमको लागि अनुदान सहयोगकाे बारेमा बैठकमा छलफल हुने भएकाे हाे।