Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदै

सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर देउवालाई निजी निवाससम्मै पुर्‍याउने तयारी

975
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किनु हुने भएकाे छ।

पूर्वसभापति देउवा बिहीबार मध्याह्न साढे १२ बजे नेपाल फर्किनु हुने भएकाे हाे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदाैं २४ गते जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारार्थ कात्तिक १० गते राति सिंगापुर जानुभएकाे थियाे । सरकार निकटस्थ विश्वस्त स्रोतले पूर्वसभापति देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने गरी ‘भद्र समझदारी’ बनेको जनाएकाे छ। प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसम्मलाई यो विषयमा जानकारी भएको स्रोतकाे दावी छ।

पूर्वसभापति देउवालाई स्वतन्त्र आवागनमा कुनै बाधा अवरोध तथा धरपकड त्यस्तो केही नगर्ने र निजी निवाससम्मै कडा सुरक्षामा राखेर पठाउने स्रोतले जनाएकाे हाे। देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्‍याउने तयारी रहेकाे छ । देउवा दम्पती सिंगापुरमै रहेकाे समयमा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो ।

उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उहाँकी पत्नी डा. आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते सीआईबी र विभागका नाउँमा उक्त आदेश जारी गरेको हो ।