काठमाडाैं । यहि अगस्ट महिनाको ३० तारिखदेखि मलेशियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ।
एशियाली क्रिकेट परिषद् (एसीसी) ले बुधबार परिमार्जित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्ट ३० मा बहराइनसँग खेल्ने भएकाे छ । यसअघि नेपालले आगामी सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्ने तय भएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेशिया रहेका छन् । त्यस्तै समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका हुन् । समूह चरणबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने भएका छन् । फाइनल खेल सेप्टेम्बर १२ मा हुनेछ ।
एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आगामी वर्ष हुने एशिया कपमा छनोट हुने भएकाे हाे । एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाली टोलीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका हुन् ।









प्रतिक्रिया दिनुहोस्