Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


सरकारले ग्यासको कालोबजारी रोक्न उपत्यकाका विभिन्न डिपोमा सादा पोशाकका प्रहरी खटायाे


0
Shares

काठमाडौं । गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन गरिने भएको छ।

उद्योगमन्त्री गौरी यादवले भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि एका-एक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि यस विषयमा चासो लिनुभएकाे हाे । ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि बजारमा अभाव देखाएर उपभोक्तालाई महँगोमा ग्यास बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनमा प्रहरीको सहयोग माग्नुभएकाे थियाे।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन र आवश्यकता अनुसार सादा पोशाकका प्रहरी परिचालन गर्न निर्दशन दिएकाे छ। सरकारले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने तथा तोकिएको मूल्य भन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि निगरानी बढाउँदै दोषी भेटिए कानून अनुसार कारबाही गर्ने तयारी गरेको हाे।

साथै, उपभोक्ताले ग्यास सहज रूपमा पाउने वातावरण सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने सरकारकाे दावी छ।